logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पश्चिम नेपालको हिमपातले सर्लाहीमा पनि कठ्यांग्रिदो चिसो


  • उज्यालो अभियान

लालबन्दी बजार क्षेत्रको दृश्य । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीसहित तराई क्षेत्रमा कठ्यांग्रिदो चिसो हुन थालेको छ ।

हिजोबाट पश्चिम नेपालका हुम्ला, जुम्ला, मगु, मुस्ताङलगायतका जिल्लाहरुमा हिमपात र वर्षा हुँदा त्यसको असर तराईमा पनि देखिएको हो ।

सर्लाहीमा गएराति र आज बिहानपख अन्य दिनको तुलनामा भित्रीरुपमा कठ्यांग्रिदो चिसो महशुस गरियो । अहिले विस्तारै मौसम उघ्रिएर पारिलो घाम लाग्ने र धाम्मधुम्म हुने भइरहेको छ ।

यस क्षेत्रमा बिहान–बेलुका र रातको समयमा चिसो बढ्दो छ । बाक्लो मात्रामा हुस्सु नलागेपनि बिहान र साँझको समयमा पातालो हुस्सु देखिन्छ । दिउँसोपख अझै घाम लाग्ने गरेको छ ।

चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा, अशक्त र शारीरिक अवस्था कमजोर भएका व्यक्तिलाई चिसोजन्य संक्रमणले समाउन सक्ने भएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।

यसैबीच, आज पनि हिमाली र उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो हिमाली र उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपात भएको थियो ।

हिमपात भएसँगै हिमाली क्षेत्रका किसान फुरुङ्ग भएका छन् । अहिलेको हिउँले हिउँदे बालीलाई फाइदा पुग्ने किसानले बताएका छन् । हिमपातले चिसो भने बढाएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार नेपालमा पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेश आसपासमा बनेको न्यून चापिय प्रणाली र बंगालको खाडीमा बनेको आँधीको प्रभाव परेको छ ।

यही प्रणालीका कारण हिजो देशभरको मौसम बदली भएको थियो । मौसम बदली भएसँगै अधिकतम तापक्रम घट्न थालेको छ ।

हिजो काठमाण्डौको अधिकतम तापक्रम झण्डै ४ डिग्री सेल्सियस घटेको थियो । अस्ति २० देखि २१ डिग्री सेल्सियस रहेको काठमाण्डौको अधिकतम तापक्रम हिजो १७ दशमलव ६ डिग्री सेल्सियसमा झरेको थियो ।

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविद् रोजन लामिछानेले बताए ।