logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीमा पनि ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो


  • उज्यालो अभियान

लालबन्दी – “दीगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यवद्धता” भन्ने मूल नारासहित ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस आज (आइतबार) सर्लाहीमा पनि मनाइएको छ ।

दिवसका अवसरमा पालिका र स्वास्थ्यको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले कार्यक्रम गरेका छन् । बरहथवा नगरपालिकाले ३५ जना अपाङ्गता भएका व्यक्तिलाई कम्बल वितरण गरी सम्मान गरेको छ । उद्योग वाणिज्य संघ बरहथवाको सभा हलमा नगर स्तरीय अपाङ्गता भएका व्यक्तिहरुको समितिका अध्यक्ष राम अयोध्या महतोको अध्यक्ष तथा नगर उपप्रमुख रामबाबु साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख सचिता गिरीसहितको आतिथ्यतामा को–क्याप नामक संस्थासँग समन्वय गरी अपाङ्गता भएका व्यक्तिलाई २ सय रुपैयाँ यातायात खर्चसहित कम्बल प्रदान गरी सम्मान गरिएको हो ।

ईश्वरपुर नगरपालिकामा नगरप्रमुख मनोजकुमार आचार्य, उपप्रमुख रन्जिता देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठलगायत भएर नगरभित्रका अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री प्रदान गरी सम्मान गर्नुभएको छ । अपाङ्गता भएर पनि समाजमा उत्कृष्ट र समाजसेवाको काम गर्ने शिवनाथ राउतसहितका व्यक्तिलाई सम्मान–पत्रसहित सम्मान समेत गरिएको छ ।

यस्तै, दिवसका अवसरमा ग्रामीण नारी उत्थान संघले हरिपुर नगरपालिकाकी उपप्रमुख निलम देवी राय यादवको प्रमुख आतिथ्यतामा महावीर जनता माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । दिवसका अवसरमा जिल्लाका २० वटै पालिकामा र्याली, अन्तक्र्रियालगायतका कार्यक्रम भएका छन् ।