प्रतिकात्मक तस्बिर ।
बागमती – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–११, पुरानो चौकीमा गएसाँझ (शनिबार साँझ) भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
दुर्घटनामा दुई प्रहरीसहित तीन जना घाइते भएका छन् । गएसाँझ ७ बजेपछि पूर्वबाट पश्चिमतर्फ गइरहेको प्रदेश नं. २–०३–००६ प ६७ नम्वरको मोटरसाइकल र इलाका प्रहरी कार्यालय कर्मैयाबाट गस्तीमा रहेको विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुईवटा मोटरसाइकल ठोक्किएपछि प्रदेश नं. २–०३–००६ प ६७ नम्वरको मोटरसाइकल पछाडि सवार युवक सडकमा पछारिँदा काठमाडौँ हिडेको ना ७ ख १८३६ बसले किच्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिलराज गिरीले जानकारी दिए । मृतक युवकको सनाखत हुन बाँकी छ । मृतक युवक ईश्वरपुर नगरपालिकाको वासिन्दा रहेको खुलेको र मृतकका परिवार आएपछि सनाखत हुने प्रहरी निरीक्षक गिरीले बताए । उनका अनुसार अहिले मृतकका परिवार आइरहेका छन् ।
उहाँका अनुसार मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका सखुवनीका २१ वर्षीय रमेश महतो घाइते भएका छन् ।
दुर्घटनामा इलाका प्रहरी कार्यालय कर्मैयाका वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) नारायण दाहाल र प्रहरीको मोटरसाइकल चालक प्रहरी हवल्दार रामशरण न्यौपाने घाइते भएका छन् ।
घाइते रमेश महतो र प्रहरी हवल्दार रामशरण न्यौपानेको लालगढ अस्पताल, धनुषामा उपचार भइरहेको छ । वरिष्ठ सई दाहालको अवस्था भने सामान्य छ ।
दुर्घटनामा परेको दुवै मोटरसाइकल, बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।