बागमती – जनकल्याण महिला समूह बागमती नगरपालिका–१, मिलनचोकले तिहारमा देउसी भैलो खेलेर सङ्कलन भएको रकमबाट बालगृहमा खाद्यान्न सहयोग गरेको छ ।
समूहले देउसी भैलोबाट उठेको ३५ हजार रुपियाँबाट चेतना सन्देश नेपालले हरिवन नगरपालिका–५, घुर्कौलीमा सञ्चालन गरेको अनाथ बालबालिका आश्रीत द्वन्द्व पीडित बालगृहमा खाद्यान्न सहयोग गरेको हो । मधेश प्रदेशसभाकी सदस्य बेची लुङ्गेलीको प्रमुख आतिथ्यतामा आज बिहान बाल गृहका अध्यक्ष सुरेन्द्र लामालाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको जनकल्याण महिला समूहले जनाएको छ ।
समूहकी अध्यक्ष उमा थापा मगर, सचिव लक्ष्मी थापा मगर, कोषाध्यक्ष सीता थापा मगर, सदस्य मीना थापा मगर, नेपाल मगर सङ्घ सर्लाहीका सल्लाहकार छलबहादुर राना मगर, सङ्घका मधेश प्रदेश समितिका मुख्य सचिव तेजनारायण आले मगरलगायतको उपस्थितिमा बाल गृहलाई खाद्यान्न प्रदान गरिएको हो ।
देउसी भैलोको रकम वनभोज अर्थात् पिकनिकमा खर्च गर्ने परिपाटी भएपनि मिलनचोकको जनकल्याण महिला समूहले भने सामाजिक कार्यमा खर्च गरेको छ । यसअघि देउसी भैलोको रकमबाट मिलनचोकका युवा समूहले जुटपानी वृद्ध सेवाश्रम र पाका उमेरका स्थानीयले हरिवन मानव सेवाश्रममा यस्तै प्रकारको सहयोग गरेका थिए ।
समाजमा सामाजिक सेवा भाव जागृत गर्ने उद्देश्यले देउसी भैलोको रकम बालगृह तथा आश्रममा खर्च गरेको स्थानीयले बताएका छन् ।