logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको मौसम धाम्मधुम्म, धमाधम धान भित्र्याउँदै किसान


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी – सर्लाहीको मौसम आज पनि धाम्मधुम्म भइरहेको छ ।

यहाँ अस्ती मंगलबारदेखि मौसममा बद्ली आई पातलो मात्रामा हुस्सु लागेर मौसम धुम्मिन थालेको हो । हिजो भने मौसम उघ्रिएको थियो । आज फेरि बिहानैदेखि बेलाबेलामा मधुरो घाम लागी मौसम धुम्मिएर पानी पर्लाजस्तो भएको छ ।

मौसममा आएको बदलीले चिसो केही मात्रामा बढेको छ । मौसम बद्ली तथा धूलोका कारण घाँटी दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता चिसोजन्य संक्रमणले सताउने भएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।

३ दिनदेखि मौसम धाम्मधुम्म भइरहँदा धान भित्र्याउन ब्यस्त रहेका जिल्लाका किसानमा चिन्ता थपिएको छ । धान काटेर खेतभरी फिँजाएका किसान पानी पर्ने हो की भन्ने डरमा परेका हुन् । चारैतिर एकैपटक धान काटिरहँदा काम गर्ने जन पाउन मुस्किल परेको गुनासो किसानले गरेका छन् ।

जिल्लामा आधा–आधी किसानले धान भित्याइसकेका छन् । अब केही किसानको मात्रै धान काट्न बाँकी देखिन्छ । काटिसकेकाले बोझा बाध्न र थ्रेसर लगाउन बाँकी छ ।

एक हप्तादेखि १० दिनभित्रमा यहाँका सबैजसो किसानले धान भित्याइसक्ने अवस्था रहेको हाम्रा संवाददाताले जनाएका छन् । प्राय ः सिँचाई सुविधा रहेको क्षेत्रका किसानले मंसिरमा ढिलो गरी पाक्ने धान रोप्छन् ।

आकाशे पानीको भर पर्नुपर्ने चुरेभेगका किसानले भने चाँडो पाक्ने आँश धान लगाउने गरेका छन् । दशैंताका नै धान भित्र्याइएको चुरेभेगका खेतमा अहिले तोरी फुल्न थालिसकेको किसानले बताएका छन् ।