चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र उपाध्यक्ष गीतादेवी महतो । (तस्बीर : उज्यालो अभियान)
नाढीमन – जिल्लाको चन्द्रनगर गाउँपालिकामा जनप्रतिनिधिबीचमा सम्वन्ध झनै बिग्रदा गाउँ सभा अनिश्चित बनेको छ ।
राजनीतिक खिचातानी र जनप्रतिनिधिबीचमा कलह बढ्दा गाउँपालिकाले गएको असार मसान्तमै गरिसक्नु पर्ने गाउँसभा आज मंसिर १४ गते भइसक्दासम्म गर्न सकेको छैन् । गाउँ सभाबाट बजेट पारित नहुँदा विकास निर्माणका काम ठप्प मात्रै भएका छैनन् तलब, भत्ता सबै रोकिएको छ ।
गएको साउनदेखि सामाजिक सुरक्षा भत्ता र कर्मचारी तथा शिक्षकको तलब निकासा हुन सकेको छैन् । ५ महिनादेखि तलब नपाएपछि गाउँपालिकाभित्रका २२ वटा सामुदायिक विद्यालय बन्द गरेर सबै शिक्षक अस्ती मंगलबारदेखि गाउँपालिकाको कार्यालयमा धर्नामा बसेका छन् । आज बिहीबार पनि धर्ना जारी छ ।
राजनीतिक हानाथापले गाउँपालिका नै बर्बाद बनिरहँदा चन्द्रनगरवासी निराश देखिन्छन् । वडा नं. १ लघुवाका वृद्ध रामजी महतोले जनप्रतिनिधिको व्यवहारले निराशा मात्रै दिएको उज्यालो अभियानसँग गुनासो गरे ।
विकास र सुविधाको आश गरेर जिताएका जनप्रतिनिधिबाट उल्टै दुःख पाएको महतोको दुःखेसो छ । “विकास त परको कुरा, यिनिहरु झगडा गरेर हामीले पाउने वृद्ध भत्ता र शिक्षक, कर्मचारीको तलब नै रोकिदिए,” गाउँपालिका कार्यालय अगाडि भेटिएका महतोले उज्यालो अभियानलाई गुनासो सुनाउँदै भने, “जनप्रतिनिधिबीचको विवादले गर्दा हामी जनता बेर्थैमा मारमा पर्नुपर्यो ।”
चन्द्रनगर ७ नाढीका मन्सिव धाँगर (मुसहर) ले मधेशको सबैभन्दा ठूलो पर्व छठमा समेत सामाजिक सुरक्षा भत्ता नपाउँदा खल्लो लागेको उज्यालो अभियानसँग सुनाए । “जनप्रतिनिधिको हानाथापले बजेट नल्याउँदा हामीले भत्ता पाएनौँ, ऋण गरेर छठ मनाउनुपर्यो ,” धाँगरले गुनासो गर्दै भने ।
गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी महतोले गाउँपालिका अध्यक्षसँग हरहिसाब माग गर्दा हिसाब नपाएको बताईन् । “न हिसाब दिनुभएको छ, बरु उल्टै एकलौटी कार्यविधि ल्याएर मेरो र वडाध्यक्षको अधिकार नै कटौति गरिदिनुभयो,” उज्यालो अभियानसँग आफ्नै निवासमा कुरा गर्दै उपाध्यक्ष महतोले भनिन् “जबसम्म हाम्रो अधिकार कटौति गर्ने कार्यविधि खारेज हुँदैन, तबसम्म गाउँ सभा हुन दिँदैनौँ ।”
उपाध्यक्ष महतोले गएको आर्थिक वर्ष २०७९/०८० को हरहिसाब पारदर्शी र गाउँपालिका अध्यक्षले एकलौटी ढङ्गले नियुक्त गरेको करारका कर्मचारी हटाउनुपर्ने माग गरेकी छन् । अध्यक्ष एकलौटी चल्दा यि सबै समस्या आएका उपाध्यक्ष महतोको आरोप छ ।
गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले भने असारमै नीति, कार्यक्रम र बजेट बनाएर गाउँ सभा गर्ने अथक प्रयास गरेपनि उपाध्यक्षसहित बहुमत सदस्य गाउँसभा बैठकमै नआएको बताए । “पटक–पटक पत्र काटेर बैठक बोलाएँ तर उहाँहरु आउनु भएन, पछि आउनु होला र कुरा मिल्ला भन्ने आशमा बसियो,” गाउँपालिका अध्यक्ष महतोले भने “गाउँ सभा नरोकौँ भनेर निरन्तर कर्मचारी, प्रमुख प्रशासकीय अधिकृतसहित २० वटा भन्दा बढी टोलीमार्फत अनुरोध गर्दा उहाँहरु मध्य मंसिर भइसक्दा पनि गाउँ सभा गर्न मानिरहनुभएको छैन् ।”
उपाध्यक्षसहित १२ जना कार्यपालिका सदस्यको माग अनुसार प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई नियमले मिल्ने सम्पूर्ण हरहिसाब दिन निर्देशन दिएको अध्यक्ष महतोले बताए । “हामी आम जनतालाई त हिसाब दिन तयार छौँ, जनप्रतिनिधिलाई नदिने कुरा हुँदैन्,” गाउँपालिका अध्यक्ष भने, “पटक–पटक बैठकमै फाइल मगाएर उहाँहरुले प्रत्येक फाइल पल्टाएर शिर्षक, उपशिर्षक अनुसारको सबै हरहिसाब हेरिसक्नु भएको छ ।”
काम गर्न नदिइ आफूलाई ‘फेल’ गराएर राजकुमार महतो भन्दा त पहिलेकै अध्यक्ष ठीक थिए भन्ने पार्न भ्रम छर्ने काम भएको उनको गुनासो छ । गत वर्ष विभिन्न मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट नाढीमन तालका लागि नौ करोड ४० लाख, गाउँपालिका भवनलाई पाँच करोड ४० लाख, औद्योगिक ग्रामका लागि तीन करोड, डीप चापाकलका लागि पाँच करोडलगायत थप ३० करोड बजेट ल्याएपनि कामै गर्न नदिने षडयन्त्र भइरहेको उनको भनाई छ ।
गाउँपालिका अध्यक्ष महतोले आफ्नो गाउँपालिकामा सर्लाहीकै प्रतिनिधि सभा सदस्य महिन्द्र राय यादव र पूर्व गाउँपालिका अध्यक्ष महेन्द्र महतोको इसारामा जनताको कामै गर्न नदिने वातावरण सिर्जना गरिएको र निर्वाचित जनप्रतिनिधि उहाँहरुकै मतियार बनेको आरोप लगाए । चन्द्रनगरमा नेपाली कांग्रेस, माओवादी केन्द्र, लोसपा, जसपासहित विभिन्न आठ दलले पूर्व गाउँपालिका अध्यक्ष महेन्द्र महतोको संयोजकत्वमा संयुक्त सङ्घर्ष समिति बनाएर गाउँपालिका अध्यक्षको विरोध गर्दै आइरहेका छन् ।
चद्रनगर गाउँपालिकामा १५ जना कार्यपालिका सदस्य छन् । त्यसमध्ये गाउँपालिका अध्यक्षसहित तीन जना एकातर्फ र उपाध्यक्षसहित १२ जना कार्यपालिका सदस्य अर्कोतर्फ रहेका छन् ।