logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

भक्तिपुरमा आगलागीबाट घर जल्यो, निभाउने क्रममा किशोर घाइते


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरमा बुधबार आगलागीबाट एउटा घर जलेको छ ।

भक्तिपुरका चन्देश्वर चौधरी कलवारले पसल समेत सञ्चालन गरेको घर आगलागीबाट नष्ट भएको हो । विद्युत् सर्ट भई आगलागी भएको पीडित परिवारले बताएका छन् ।

आगलागीबाट घर तथा घरमा रहेको सरसामग्री, किराना पसल, नगद, गरगहनालगायत सम्पूर्ण समान जलेर नष्ट हुँदा ७० लाख रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताए ।

आगो निभाउने क्रममा घरधनी चन्देश्वरका छोरा १४ वर्षीय रामकुमार चौधरी शरीरका विभिन्न भाग जलेर घाइते भएका छन् । उनलाई बयलवासमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको छ । आगलागीपछि बेलोबलामा अचेत भइरहेका घरधनी चन्देश्वरलाई पनि उपचारका लागि छोरासँगै काठमाडौँ लगिएको स्थानीयले बताएका छन् ।

आगलागीमा परेर चौधरीको घरमा पाहुना आएका चेलिबेटी र अन्य आफन्तको गरगहना समेत जलेको वडाध्यक्ष विश्वनाथ सहनी मलाहले जानकारी दिए । उनका अनुसार विद्यार्थी, गाउँले, प्रहरीलगायत भएर बाल्टिन तथा मोटरबाट पानी हालेर आगो निभाइएको छ ।

हरिवन र मलङ्गवा नगरपालिकाको दमकल पछि आइपुगेका थिए । अग्नी पीडित चौधरी परिवारलाई तत्कालै आफूले व्यक्तिगत तर्फबाट केही राहत सामग्री प्रदान गरेको र नगरपालिकाबाट थप सहयोग गरिने नगरप्रमुख मनोजकुमार आचार्यले बताए ।