रामनगर – ईश्वरपुर नगरपालिका वडा नं. ९ रामनगरको वडा कार्यालय भवन निर्माणका लागि वडा सदस्य लक्ष्मीप्रसाद महतोले जग्गा दिएका छन् ।
महतोले वडा कार्यालयको आफ्नै भवन निर्माण गर्न करिव ८ लाख रुपैयाँ पर्ने दुई कठ्ठा जग्गा सहयोग गरेका हुन् । महतोले उपलब्ध गराएका जग्गामा सोमबार सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, नगरप्रमुख मनोजकुमार आचार्य, उपप्रमुख रञ्जितादेवी चौधरी, वडाध्यक्ष नन्दलाल चौधरीलगायत भएर भवनको शिलान्यास गरेका छन् ।
आफ्नै भवन नहुँदा ईश्वरपुर ९ को वडा कार्यालय अहिले क्लबको भवनबाट सञ्चालन भइरहेको छ । ईश्वरपुरमा हिजै वडा नं. ११ बेलामा पनि वडा कार्यालय र स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।
नगरपालिकामा यो वर्ष वडा नं. ७, ९, १० र ११ को वडा कार्यालय र वडा नं. ११ मा स्वास्थ्य चौकी भवन निर्माण गर्न एक करोड ६८ लाख ८६ हजार ४५५ रुपैयाँमा महादेव निर्माण सेवा बरहथवा–२ लाई ठेक्का दिइएको छ ।