logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीका प्रत्येक सरकारी कार्यालयमा ई–हाजिरीको व्यवस्था गरिने


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीका प्रत्येक सरकारी कार्यालयमा ई–हाजिरीको व्यवस्था गर्ने निर्णय गरिएको छ ।

आज (आइतबार) सदरमुकाम मलंगवामा बसेको कार्यालय प्रमुखहरुको नियमित बैठकले सेवा प्रवाहमा प्रभावकारिता थपियोस् र जनगुनासोको सम्वोधन होस् भन्ने उद्देश्यले प्रत्येक कार्यालयमा जतिसक्दो चाँडो अनिवार्य ई–हाजिरीको प्रवन्ध गर्ने निर्णय गरेको हो । आज भएको यो निर्णय प्रत्येक सरकारी कार्यालयलाई पत्राचार गरी ई–हाजिरीको व्यवस्था मिलाउन भनिने प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले उज्यालो अभियानसँग बताए ।

बैठकले प्रत्येक कार्यालयले सरसफाईमा ध्यान दिँदै आ–आफूबाटै सुधारको अभियान अघि बढाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनायो । प्रमुख जिल्ला अधिकारी धमलाको अध्यक्षतामा बसेको बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, सुरक्षा निकायका प्रमुख र जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रत्येक महिनाको ५ गते कार्यालय प्रमुखहरुको नियमित बैठक बस्ने गरेकोमा यो पटक बीचमा चाडपर्वका कारण ५ दिन पछि आज बैठक बसेको हो ।