हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुर कोद्राह स्वास्थ्य चौकीमा आज (शनिबार) भएको निःशुल्क स्वास्थ्य शिविरमा ३५० जनाको उपचार गरिएको छ ।
स्थानीय समाज विकास केन्द्र हरिपुर १ हजारबिघाले हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेन्टको सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । शिविरमा १४९ जनाको आँखा, ४५ जना महिलाको स्त्री सम्वन्धी रोग र १५७ जनाको अन्य रोगको उपचार गरिएको आयोजकले जनाएको छ । आँखा जाँच गरिएका १४९ जनामध्ये ४३ जनामा मोती बिन्दुको समस्या देखिएको छ । उनीहरुलाई यही मंसिर १७ गते हरिवनस्थित सुखेपोखरीमा निःशुल्क अप्रेसनको व्यवस्था मिलाइएको आयोजकका टेकबहादुर थापा (अर्जुन) ले जानकारी दिए ।

त्यस्तै, स्त्री रोगका ४५ जना बिरामीमध्ये १३ जनामा पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । उनीहरुलाई यही मंसिर १३ गते मधेश अस्पताल जनकपुर लगेर निशुल्क अप्रेसनको व्यवस्था मिलाइएको थापाले बताए । उनका अनुसार शिविरमा उपचार गर्न आएका बिरामीलाई औषधि समेत निःशुल्क वितरण गरिएको छ ।

विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य उपचार र औषधि पाउँदा न्यून आयआर्जन भएका बिरामीलाई राहत मिलेको छ ।
शिविरमा पूर्व राज्यमन्त्री रिजवान अन्सारी, मधेश प्रदेश सभा सदस्य विमला अन्सारी, हरिपुर ६ का वडाध्यक्ष प्रेमहरि श्रेष्ठ, नगरपालिकाको स्वास्थ्य शाखा संयोजक अनिल चौधरीलगयतको उपस्थिति रहेको थियो ।