सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल । (तस्बीर : उज्यालो अभियान)
मलंगवा – मौसममा आएको परिवर्तनसँगै अधिकांश व्यक्तिमा घाँटी दुख्ने र रुघाखोकीको सङ्क्रमण बढेको छ ।
चिकित्सकका अनुसार गर्मी कम भई चिसो बढ्दै गइरहेको यो मौसममा वर्षेनिजसो यस्तो सङ्क्रमण बढ्ने गर्छ । जिल्लाका अधिकांशजसो निजी स्वास्थ्य संस्थामा हिजोआज घाँटी दुख्ने र रुघाखोकीको सङ्क्रमण भएका बिरामी उपचारका लागि पुगिरहेका छन् ।
पूर्व–पश्चिम राजमार्गका नवलपुर, हरिवन, लालबन्दीसहित सदरमुकाम मलङ्गवा, बयलवास, बरहथवालगायत जिल्लाभरकै स्वास्थ्य संस्थामा चिसोजन्य सङ्क्रमणका बिरामी बढेका पाइएको हो । चाडपर्वका कारण सरकारी स्वास्थ्य चौकीहरु लगातार बन्द रहेकाले चिसोजन्य सङ्क्रमणका बिरामी उपचारका लागि निजी स्वास्थ्य संस्थामा धाउन बाध्य भएका छन् ।
चिकित्सक देवेन्द्रकुमार झाले यो याममा वर्षेनि चिसोजन्य सङ््क्रमण बढ्ने गरेको बताए । उनका अनुसार अहिले उपचार गर्न आउने अधिकांश बिरामीमा ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, शरीर दुख्नेजस्ता सङ्क्रमण धेरै देखिन्छ ।
यो समयमा चिसोले तुरुन्त आक्रमण गर्ने भएकाले चिसोबाट बच्ने उपाउ अपनाउन उहाँले आग्रह गरेका छन् । डाक्टर झाका अनुसार शारीरिक अवस्था कमजोर भएका व्यक्ति, स–साना बालबालिका र वृद्धवृद्धालाई अझ तुरुन्त चिसोको सङ्क्रमण भइहाल्ने भएकाले सचेत हुनुपर्छ ।