logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

रानिगन्जमा तरकारी बजार राखिने, आज सरोकारवालासँग छलफल


  • उज्यालो अभियान

रानिगन्ज – सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगन्जमा तरकारी बजार राखिने भएको छ ।

यो वर्ष संघ, प्रदेश र स्थानीय सरकारको समेत गरी तरकारी बजार राख्नका लागि ७९ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन भएको वडाध्यक्ष विष्णुहरि अधिकारीले जानकारी दिए । सो बजेट छुट्याइएको र के–कसरी बजार राख्ने ? भन्ने विषयमा आज (शुक्रबार) संघ तथा प्रदेशका सांसद, पालिकाका जनप्रतिनिधि, स्थानीय दलका प्रतिनिधि, राजनीतिज्ञ, वुद्धिजिवी, किसानलगायतसँग वडा कार्यालयको सभा हलमा बृहत छलफल गरिएको वडाध्यक्ष अधिकारीले बताए ।

उनका अनुसार रानिगन्जस्थित पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको देवता महाकाली गुठीको ४ बिघा जग्गामा बजार बसाल्ने तयारी गरिएको छ । आजको छलफलले तरकारी बजार राख्नका लागि पुनः छलफल बोलाएर समिति गठन गर्ने निर्णय गरेको छ ।

लालबन्दी बजारमा रहेको थोक तरकारी बजार साँघुरो रहेको र रानिगन्जसहित उत्तर–पूर्वी भेगका किसानलाई लालबन्दी बजार टाढा पनि परिरहेकाले रानिगन्जमै तरकारी बजार राख्न पहल थालिएको वडाध्यक्ष अधिकारीले बताए ।

आजको छलफलमा सर्लाही क्षेत्र नं. १ का संघीय सांसद रामप्रकाश चौधरी, प्रदेशसभा सदस्य बेची लुंगेली, लालबन्दी नगरपालिकाकी उपमेयर कल्पनामाया पाख्रिनलगायतको उपस्थिति रहेको थियो ।