हरिवन – कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बिहीबार बिहान सर्लाहीको हरिवनमा पार्टीका एक जना पुराना नेताको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
चितवनतर्फ हिँडेका मन्त्री गुरुङले हरिवन नगरपालिका–११, निवासी निवर्तमान जिल्ला कार्य समितिका सदस्य मुनेश्वर साहको निधनमा दुःख व्यक्त गरी उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका हुन् । कांग्रेसका पुराना कार्यकर्ता साहको बुधबार राति निधन भएको थियो ।
केन्द्रिय उपसभापति गुरुङसँगै जिल्लामा रहेका नेता, कार्यकर्ता भएर पार्टीको चारतारे झण्डा ओढाई दिवंगत साहप्रति श्रद्धाञ्जली व्यक्त गरिएको नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले जानकारी दिए । हरिवनमा केहीबेर रोकिएका उपसभापति गुरुङले हरिवन क्षेत्रमा उपलब्ध अगुवा नेता, कार्यकर्तासँग अनौपचारिक भेटघाट समेत गरेका छन् ।
अनौपचारिक भेटमा पार्टीको वर्तमान गतिविधिका विषयमा छलफल भएको जिल्ला सचिव कार्कीले बताए ।