कब्रस्थानमा गाडिएको अवस्थामा तवसुनको शव उत्खनन् गर्ने क्रममा खटिएका सुरक्षाकर्मी ।
हरिवन – सर्लाहीको हरिवन नगरपालिका–११, बालगङ्गा मुस्लिम बस्तीमा प्रहरीले खाल्डोबाट उत्खनन गरेर परीक्षण गर्न लगेको युवतीको शव पोष्टमार्टमपश्चात पुनः अन्त्येष्टि गरिएको छ ।
मृतक युवतीको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि आफन्तजनलाई बुझाइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले जानकारी दिए । गएको कात्तिक २६ गते शङ्कास्पद मृत्यु भएकी १७ वर्षीया तबसुन खातुनको शव आइतबार मुस्लिम समुदायको शव दाहसँस्कार गर्ने स्थल (कब्रस्थान) बाट सात दिनपछि उत्खनन गरी पोष्टमार्टम गर्न मलङ्गवा लगिएको थियो ।
पोष्टमार्टमपछि मृतकको शव पुनः कब्रस्थानमा लगेर गाडिएको हो । शव पोष्टमार्टमसँगै भिसेरा परीक्षणका लागि मुटु, फोक्सो र कलेजोको टुक्रा समेत निकालिएको प्रहरीले जनायो ।
प्रहरी उपरीक्षक धितालले मृतक तबसुनकी सौतेनी आमा ४५ वर्षीया सकिना खातुनलाई हिरासतमा राखी अनुसन्धान जारी राखिएको बताए । मृतकका बुवा सेख इर्साद र दाई सेख चाँद फरार रहेका छन् ।
उनीहरुको खोजी जारी रहेको प्रहरी उपरीक्षक धितालले बताए ।