आश्रममा सहयोग गर्दै युवा टोली । (तस्बीर : उज्यालो अभियान)
नवलपुर – लालबन्दी नगरपालिका–१, नवलपुरका युवाले देउसी खेलेर सङ्कलन भएको रकम सामाजिक कार्यमा खर्च गरेका छन् ।
तिहारमा खेलिएको देउसीबाट सङ्कलित रकममध्ये गाउँकै सिँचाई बोरिङमा आवश्यक सामग्री खरिद गर्न २५ हजार बढी सहयोग गरिएको स्थानीय ध्रुव बुढाथोकीले जानकारी दिए । बोरिङलाई सहयोग गरेर बाँकी रहेको रकमबाट लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा २५ केजी चामल, ५ केजी आलु, ३ लिटर तेल, पाँच प्याकेट नुन, मस्यौरा, मसलालगायतका सामग्री सहयोग गरेको बुढाथोकीले बताए ।
देउसीको रकम अनावश्यक खर्च गर्नुको साटो सामाजिक कार्यमा खर्च गर्ने निर्णय गरी सिँचाई बोरिङ र वृद्ध आश्रममा सहयोग गरेको नवलपुरका युवाले बताएका छन् ।
यसअघि देउसी खेलेर उठेको रकमले हरिपुर नगरपालिका–२, सखुवाका स्थानीयले पनि गाउँको महादेव मन्दिरमा बाजागाजा खरिद गर्ने निर्णय गरेका थिए ।