सदरमुकाम मलंगवास्थित छठघाटमा आज बिहान उदाउँदो सूर्यको पूजा गर्दै व्रतालु । (तस्बीर : पत्रकार विश्वनाथ ठाकुरको फेसबुकबाट)
मलंगवा – उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर यस वर्षको छठ पर्वको समापन गरिएको छ ।
हिजो अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका हुन् । व्रत नबसेकाहरुले पनि उदाउँदो सूर्यको पूजा गर्ने चलन छ ।
सूर्यको आराधना गरेर मनाइने यो पर्व लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनदेखि विधिवत् रूपमा शुरु हुन्छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाउने छठ तराईमा बस्ने भोजपुरी र मैथली भाषी हिन्दु समुदायको मुख्य पर्व हो ।
छठ पर्वलाई निकै कठिन पर्व मानिन्छ । सूर्य र जलको शक्ति तथा महत्त्व झल्काउने यस पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ । नेपालमा पहिला तराई क्षेत्रमा सीमित यो पर्व केही वर्षदेखि काठमाण्डौ उपत्यका तथा विभिन्न पहाडी जिल्लामा पनि मनाउन थालिएको छ । छठ पर्व मनाउनेहरूले पोखरीको डिल र नदीतटको सरसफाइ गरेर पूजास्थल बनाउँछन् ।
तराईका जिल्लामा रहेका छठी घाटहरूमा लाखौँ रुपैयाँ खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि कामहरू भएका छन् ।
यसैबीच, सर्लाहीका छठघाटबाट बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएका व्रतालु अहिले धमाधम घर फर्किरहेका छन् । सर्लाहीमा २७४ भन्दा बढी स्थानमा छठघाट निर्माण गरी पूजा गरिएको छ ।
पूजा सकेर घर फर्किएका व्रतालुले अब घरमा आफन्त, इष्टमित्रलाई बोलाएर छठको प्रसाद खुवाउने चलन रहेको छ ।