logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ चढाइयो


  • उज्यालो अभियान

लालबन्दीस्थित डुमडुमे मन्दिर परिसरको पोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ चढाउँदै गरेका व्रतालु । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी – छठ पूजा अन्तर्गत व्रतालुले आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ चढाएका छन् ।

नजिककै जलाशयमा बनाइएको छठघाटमा पुगेर व्रतालुले अस्ताउँदो सुर्यको पूजा गर्दै अर्घ अर्पण गरेका हुन् । उनीहरु अब आज रातभर सोही जलाशयमै जाग्राम बस्छन् । सोमबार बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ चढाएपछि यस वर्षको छठ पर्व समापन हुन्छ ।

व्रतालु र परिवारका सदस्य बाँसको ढाकीमा पूजा सामग्री : केरा, स्याउ, सुन्तला, पानी भएको नरिवल, शुद्धसँग बनाइएको विभिन्न परिकार बोकेर दिउँसै छठघाटमा पुगेका हुन् ।

प्रत्येक छठघाटमा छठ पर्वका गीत गुञ्जिएका छन् । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने, आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

छठपूजाका लागि सर्लाहीमा २७४ भन्दा बढी स्थानमा छठघाट निर्माण गरिएको छ ।