logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै, सर्लाहीका २७४ स्थानमा छठघाट निर्माण


  • उज्यालो अभियान

बयलवास – आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ ।

छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ ।

व्रर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । आज सप्तमी तिथि भए पनि भोलि बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्व समापन हुने संस्कृतिविद् डाक्टर वीरबहादुर महतोले जानकारी दिए ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । यो परम्पराअनुसार अस्ति चतुर्थीदेखि छठपर्व शुरु भएको हो । यसपालि तिथिको घटबढका कारण हिजो पञ्चमी र षष्ठी तथा आज षष्ठी र सप्तमी तिथि परेको छ ।

तिथि घटबढ भए पनि यसवर्ष पनि पहिलेजस्तै चार दिन नै छठ पर्व मनाइने भएको हो। छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउ लगायतको बढी प्रयोग गरिन्छ । छठका लागि सर्लाहीसहित तराई मधेस र काठमाण्डौ उपत्यकाका नदी, तलाउ र जलाशय झकिझकाउ भएका छन् ।

पछिल्लो समय यो पर्व पहाडमा पनि धुमधामका साथ मनाइन्छ । मधेसी समुदायको भनेर मानिने छठ पूजा पहाडी समुदायमा पनि बढ्दै गएकोले सह–संस्कृतिको हिस्सा बन्दै गइरहेको छ ।

काम गर्न टाढा पुगेका परिवारजन छठ पर्वका लागि घर आएका छन् । पर्वले सबै परिवारजन र आफन्तसँग भेटघाट गराएको छ ।

यसैबीच सर्लाहीमा छठ पूजाका लागि २७४ स्थानमा छठघाट निर्माण गरिएको छ । जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको विवरण अनुसार २० वटा पालिकाका २७४ स्थानमा छठको पूजा स्थल तयार पारिएको हो ।

सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले एउटै गाउँमा चार÷पाँचवटासम्म छठघाट निर्माण भएको बताए । उनले प्रत्येक छठघाटमा आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको बताए ।

यहाँको बागमती, लखन्देही, कालिन्जोर, झिम, बाँके, एकादशी, मनुष्मारालगायतका खोला तथा नहर र पोखरीमा छठघाट निर्माण गरिएको छ । छठपूजा गर्न कतिपय स्थानमा कृत्रिम पोखरी निर्माण गरिएको छ ।

हरिवन नगरपालिका–२ का जगदेव महतोले आफूहरुको गाउँमा हिजो जनश्रमदान गरी पोखरी खनेर छठघाट निर्माण गरिएको जानकारी दिए । व्रतालुले छठ पूजाका लागि माटाका भाँडा, बाँसबाट बनेका ढाकीलगायतका सामग्री, नरिवल, उखु, केरा, सुन्तलाको जोहो गरिरहेका छन् ।

लालबन्दी, हरिवन, बरहथवा, बयलवास, मलङ्गवा, हरिपुर, नवलपुर, गोडैतालगायतका बजारमा यि सामग्रीको राम्रो व्यापार भइरहेको छ ।