प्रतिकात्मक तस्बीर ।
हरिवन – हरिवन नगरपालिका–११, बालगंगा मुस्लिम बस्तीमा ६ दिनअघि गाडिएको युवतीको शव खाल्डोबाट निकालेर परीक्षण गरिने भएको छ ।
युवतीको मृत्यु शंकास्पद रहेको भनी प्रहरीमा जानकारी आएपछि असोज २६ गते गाडिएको १७ वर्षीया तबसुन खातुनको शव उत्खनन गरेर निकाल्न लागिएको हो । स्थानीय शेख इर्सादकी छोरी तबसुनको मृत्युको कारण खुल्न सकेको छैन् ।
तबसुनको मृत्युबारे यसअघि प्रहरीमा कुनै जानकारी नै आएन । युवतीको शव असोज २६ गते नै मुस्लिम समुदायको शव दाहसंस्कार गर्ने स्थल ‘कबरस्थान’ मा लगेर गाडिएको थियो ।
घटनाबारे हिजो (शुक्रबार) बेलुका मात्रै इलाका प्रहरी कार्यालय हरिवनमा खबर आयो । प्रहरीले आज (शनिबार) बिहान मृतकको शव उत्खनन गरेर बाहिर निकाल्न खोज्यो तर स्थानीयबाट अवरोध भयो ।
त्यसपछि हरिवन ११ स्थित वडा कार्यालयमा बिहान भएको सर्वपक्षिय छलफलबाट घटनाको अनुसन्धान गर्न शव निकाल्न दिने सहमती भएको छ ।
युवतीको शव परीक्षणका लागि सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालबाट चिकित्सकसहितको टोली आउने इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले उज्यालो अभियानसँग बताए । उनले युवतीको मृत्युबारे अनुसन्धान जारी नै रहेको बताए ।
प्रहरीका अनुसार मृतक युवतीका बुवा सेख इर्साद र दाई शेख चाँद फरार छन् । युवतीको शव गाडिएको स्थल र बालगङ्गा बस्तीमा अहिले हरिवनसहित जिल्लाका विभिन्न स्थानबाट थप मद्धतमा खटिएका प्रहरी टोली व्यापक मात्रामा परिचालन गरिएको छ ।
हरिवन नगरपालिका–११ का वडाध्यक्ष शेष महबुब रेजाले चिकित्सकसहितको टोलीले घटनास्थलमै शव परीक्षण गर्ने र पुनः त्यहीँ गाड्ने सहमती भएको बताए । मेयर रमेश बुढाथोकी (कमल) ले मुस्लिम अगुवासमेतको उपस्थितिमा चिकित्सकले कबरस्थानमै शव परीक्षण गर्ने बताएका छन् ।