मलंगवा – सर्लाहीसहित तराई–मधेश यतिबेला पवित्र पर्व छठमय बनेको छ ।

यहाँका प्रत्येक बस्ती छठका गीतले गुञ्जयमान बनेका छन् । व्रतालु र उनीहरुका परिवार छठ पूजाको अन्तिम तयारीमा जुटेका छन् ।

बजारमा छठका लागि प्रयोग हुने बाँसबाट बनेका विभिन्न सामग्री, माटाका भाँडासहित केरा, पानी भएको नरिवल, पान, भान्टा, मुला, अदुवा, उखुलगायत हरियो तरकारी र फलफूलको व्यापार बढेको छ ।

पोखरी, खोला तथा नहर किनार तथा कृत्रिम जलाशयमा छठ पूजास्थल तयार पार्ने काम धमाधम चलिरहेको छ । यो वर्षको छठ पर्व शुक्रबारबाट विधिवत् रुपमा सुरु भइसकेको छ ।

पर्वको मुख्य दिन आगामी आइतबार अस्ताउँदो सूर्यमा अघ्र्य चढाउने तयारी छ ।