हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–२, सखुवामा स्थानीय पूर्णिमा किर्तन समूहले देउसी खेलेर संकलन भएको रकमले गाउँकै मन्दिरका लागि बाजा खरिद गर्ने भएको छ ।
तीहारमा देउसीबाट उठेको करिव २५ हजार रुपैयाँबाट कृष्ण वर्णेश्वर महादेव मन्दिरमा ढोलक, तबलालगायतका बाजा खरिद गर्ने निर्णय गरिएको स्थानीय ध्रुवप्रसाद प्रसाईले जानकारी दिए । अहिले मन्दिरका आफ्नै बाजा नहुँदा भजनकिर्तन भएका बेला बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ ।
स्थानीयवासी प्रसाईका अनुसार मन्दिरका लागि भनी अन्यत्रबाट दिएको रकमबाट मन्दिरको भौतिक संरचना निर्माण गरिए पनि बाजागाजा जोड्न सकिएको थिएन । बाजाको समस्यालाई मध्यनजर गरी तीहारमा किर्तन समूहमा सदस्य मिलेर गाउँघरमै देउसी भैलो खेली रकम संकलन गरेको उनले बताए ।
स्थानीय गाउँलेले गत अक्षय तृतीयाको अवसर पारेर गाउँकै अगुवा चन्द्रप्रसाद प्रसाई अध्यक्ष रहने गरी पूर्णिमा किर्तन समूह गठन गरेका छन् ।
केही वर्ष अघिसम्म सर्लाहीमा यसरी देउसी भैलो खेलेको रकम सामाजिक काममा खर्च गर्ने परिपाटी धेरै रहेको थियो ।