logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

उज्यालोको समाचार प्रभाव : रित्तिएको फार्मेसीमा केही औषधि आइपुग्यो


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेमा स्वास्थ्य बीमा गरेका बिरामीले निःशुल्क पाउनुपर्ने औषधिमध्ये केही औषधि आइपुगेको छ ।

स्वास्थ्य केन्द्रबाट बिरामीले निःशुल्क औषधि पाउनुपर्ने फार्मेसी अर्थात् औषधि पसल औषधि नै सक्किएर लामो समयदेखि रित्तिएकोबारे कात्तिक २० गते उज्यालो अभियान दैनिकले समाचार प्रकाशन गरेको थियो । उज्यालो अभियानसहित विभिन्न संचार माध्यममा समाचार प्रकाशन तथा प्रशारण भएपश्चात स्वास्थ्य केन्द्र व्यवस्थापन समितिले तत्काल औषधि आपूर्तिकर्तासँग सम्झौता नवीकरण गरेर औषधिको अभाव पूर्ति गरेको हो ।

औषधि आपूर्ति गर्ने पर्ल मेडिटेक भरतपुर, चितवनसँग सम्झौता नवीकरण गर्नासाथ हिजो दिउँसो करिव १२० प्रकारका औषधि प्राप्त भएको स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक सुदीप काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार तत्काल करिव छ लाख रुपैयाँ बराबरको औषधि प्राप्त भएको छ ।

तीहार तथा छठ लगत्तै थप औषधि आउने उनले बताए। स्वास्थ्य केन्द्र व्यवस्थापन समितिले आर्थिक वर्षको सुरुमा गर्नुपर्ने सम्झौता नवीकरण नगर्दा स्वास्थ्य बीमा गरेका बिरामीले फार्मेसीबाट निःशुल्क पाउनुपर्ने औषधि बाहिरबाट किनेर खानुपर्यो ।

आगामी असार मसान्तसम्म सम्झौता नवीकरण गरी राष्ट्रिय बीमा बोर्डबाट निकासा भएको तीन लाख रुपैयाँ समेत औषधि आपूर्तिकर्तालाई दिएर पठाइसकिएको प्राथमिक स्वास्थ्य केन्द्रले जनायो ।

स्वास्थ्य बीमा गरेका सर्लाही जिल्लाभरका बिरामीले लालबन्दीको यसै प्राथमिक स्वास्थ्य केन्द्रबाट मात्रै निःशुल्क औषधि पाउने गरेका छन् । जिल्लाका अन्य अस्पतालमा यो सुविधा छैन् ।

लालबन्दी नगरपालिका ९ स्थित डुमडुमे मन्दिर नजिक रहेको यस अस्पतालमा लालबन्दी, ईश्वरपुर, हरिवनलगायत छिमेकी पालिका र सिन्धुलीको मरिण तथा क्यानखोला क्षेत्रका बिरामी समेत सेवा लिन आउने गरेका छन् ।