logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्न सुरु


  • उज्यालो अभियान

मलंगवा – जिल्ला प्रशासन कार्यालय सर्लाहीले गैरआवासीय नेपाली नागरिकलाई नागरिकताको प्रमाण–पत्र वितरण गर्न सुरु गरेको छ ।

कार्यालयले आज (शुक्रबार) पहिलो पटक दुई जना गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको हो । हरिवन नगरपालिका–११, का उत्तम भट्टराई र लालबन्दी नगरपालिका–७, का गोपाल अधिकारीलाई आजै एकैसाथ नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।

भट्टराई र अधिकारी दुवै अमेरिकामा बस्छन् । प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले हस्ताक्षर गरी दुवै जनाको नागरिकता जारी गरेका हुन् ।

अधिकारी र भट्टराईलाई प्रमुख जिल्ला अधिकारी धमला, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे र नागरिकता फाँटका प्रशासकीय अधिकृत राजकुमार थापा भएर नागरिकता हस्तान्तरण गरेका हुन् । सर्लाहीमा जिल्ला प्रशासन कार्यालय मलंगवा र हरिवन तथा बरहथवामा रहेका इलाका प्रशासन कार्यालयबाट नागरिकता जारी हुने गरेका छन् ।

गैरआवासीय नेपालीको हकमा तत्कालका लागि जिल्ला प्रशासन कार्यालयबाट मात्रै नागरिकता पाउने व्यवस्था मिलाइएको कार्यालयका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ ।

विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साविकमा वङ्शजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था छ ।