महासमिति चयन गर्न जानकी मा.वि. मा शुक्रबार भएको मतदान ।
नेपाली – कांग्रेस सर्लाही क्षेत्र नं. १ को महासमिति सदस्य निर्वाचन अन्तर्गत आज लालबन्दीमा मतदान सम्पन्न भएको छ ।
लालबन्दी ७ स्थित बजारमा रहेको जानकी माध्यमिक विद्यालयमा भएको मतदानमा क्षेत्र नं. १ मा रहेका ८४२ जना क्षेत्रीय प्रतिनिधिमध्ये ७७२ जना उपस्थित भएर मतदान गरेका छन् । ७० जनाले मतदानमा भाग लिएनन् । बिहान ९ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चल्यो ।
निर्वाचन समितिले आजै साँझ ६ बजेबाट मतगणना सुरु गर्ने जनाएपनि अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन् । प्रतिस्पर्धामा सहभागी दुवै समूहसँग छलफल र मतगणनास्थलमा बत्ती जडानको तयारी भइरहेको निर्वाचन समिलते जनाएको छ ।
आजै मतगणना सकेर नतिजा सार्वजनिक गर्ने तयारी छ । महासमिति सदस्य निर्वाचनमा कांग्रेसको संस्थापन पक्ष अर्थात सभापति शेरबहादुर देउवाको प्यानल र संस्थापन इतर अर्थात् शेखर कोइराला दुवै समूह प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । संस्थापन पक्षबाट आदिवासी जनजातिमा शम्भुलाल श्रेष्ठ, खस आर्यमा नवराज अधिकारी, खुल्लामा प्रमोदकुमार बराल, शेष सहदुल्लाह, कन्चन साह, सुरेन्द्रकुमार न्यौपाने र बासुदेव अधिकारी रहेका छन् । यस्तै, खुल्ला महिलामा रेखा जोशी, दलितमा जुना परियार र मधेशीमा रामबाबु साह रहेका छन् ।
यसैगरी, संस्थापन इतर पक्षबाट आदिवासी जनजातिमा सत्यदेव सिंह दनुवार, महिलातर्फ लक्ष्मी गोले प्रधान र सुशीला कार्की, प्रत्यक्ष खुल्ला तर्फबाट शिवकुमार गुर्मछान, योगराज देवकोटा, रामचन्द्र चौधरी, दीपक अधिकारी, पम्फा लामा श्रेष्ठ, खसआर्यमा उद्धवप्रसाद पौडेल, मधेशीमा सोनेलाल साह र दलितमा कुशबहादुर वि.क. रहेका छन् । निर्वाचन समितिका अनुसार अहिले अपरान्ह ४ बजे मतदान सकिएपछि आजै साँझदेखि मतगणना सुरु गरिने छ ।
सर्लाहीको ४ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. ४ मा जिल्ला अधिवेशनकै निर्वाचनताका मतदानबाटै र क्षेत्र नं. ३ मा केही दिनअघि सर्वसहमतीबाट महासमिति सदस्य चयन गरिसकिएको छ । क्षेत्र नं. २ मा भने केही विवाद छ ।