लालबन्दी ८ स्थित हालको लालबन्दी नगरपालिकाको कार्यालय ।
लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका भित्रका वडा कार्यालय पूरा समय नखुल्ने गरेको व्यापक जनगुनासो आउन थालेको छ ।
कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म प्रत्येक सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्नुपर्ने सरकारले समय निर्धारण गरेको छ । तर, लालबन्दी नगरपालिका अन्तर्गतका अधिकांश वडा कार्यालय बिहान १० बजे खुल्दैनन् ।
वडा सचिव र अन्य कर्मचारी प्राय : बिहान साँढे १० बजेदेखि ११ बजेको बीचमा मात्रै कार्यालय पुग्ने गरेका गुनासो सेवाग्राहीले गरेका छन् । त्यस्तै, अपरान्ह ४ बजेअघि नै वडा कार्यालय बन्द भइसकेका हुन्छन् । आज मात्रै वडा नं. ३ जब्दीको वडा कार्यालय र वडा नं. ५ मेजरगन्जको वडा कार्यालय दिउँसो ३ बजेतिरै बन्द भएको पाइएको छ ।
वडा नं. ३ का एक सेवाग्राहीले गुनासो गरेपछि दिउँसो साँढे ३ बजेतिर हामी वडा कार्यालय पुग्दा कर्मचारीहरु ताला लगाएर हिँडिसकेका पाईयो । वडा सचिव रविन खड्काले अत्यावश्यक काम परेकाले आज आफू चाँडै घर निस्कनुपरेको बताए।
नाम उल्लेख नगर्ने शर्तमा उज्यालो अभियानसँग गुनासो राख्नुभएका ती सेवाग्राहीले प्रायः सबैजसो दिन ३ बजेपछि कर्मचारीले ‘टाप’ कस्ने गरेका बताए । ३ बजेपछि पुग्ने सेवाग्राहीले सेवा पाउन सक्दैनन् । आज वडा नं. ५ मेजरगन्जको वडा कार्यालय पनि ४ बजेसम्म नखुलेको पाइएको छ ।
वडा नं. ५ का वडा सचिव रोशन खड्काले सन्चो नभएर आफू २ बजेतिरै कार्यालयबाट निस्किएको जवाफ दिए । १७ वटा वडा रहेको लालबन्दीमा अधिकांश वडाबाट यस प्रकारको गुनासो आउन थालेको छ ।
लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले ४ बजेसम्म वडा कार्यालयमा कर्मचारी नबसेको विषयमा आफूले बुझ्ने बताए । यसअघि दशैँको बिदापछि गएको असोज १० गते बिहान ११ बजेसम्म पनि लालबन्दी ९ को वडा कार्यालय नखुल्दा सेवाग्राहीले गुनासो गरेपछि उज्यालो अभियानबाट सोधखोज गर्नासाथ हतारहतार कार्यालय सहयोगी पुगेर कार्यालय खोलेका थिए ।
लालबन्दी नगरपालिकाका प्रवक्ता एवं वडा नं. १६ का वडाध्यक्ष गणेशबहादुर थापाले समयमै वडा कार्यालय नखुलेको र समय भन्दा अगाबै बन्द हुने गरेकोबारे आफूमाझ पनि केही गुनासो आएको र यस्ता विषय संचार माध्यमले उठान गरिदिनुपर्ने बताए । लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीले यसरी समय नभई कर्मचारीले कार्यालय बन्द गरेर हिँडे, कारवाहीको दायरामा ल्याउने दावी गरे ।