logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

तीहारअघि उखु किसानले ३० प्रतिसत पैसा पाउने, बाँकी रकम मन्त्रालयले पठाएपछि दिइने


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीका उखु किसानलाई तीहारअघि ३० प्रतिसत अनुदान रकम वितरण गर्ने निर्णय गरिएको छ ।

अर्थ मन्त्रालयले अहिले जिल्लामा पठाएको अपुरो रकममध्ये किसानलाई बाँड्नका लागि ३० प्रतिसत मात्रै पुग्छ । त्यहि रकम भएपनि सबै किसानलाई ३० प्रतिसतको हिसाबले खातामा पठाइदिने सहमती भएको हो ।

आज (बुधबार) अपरान्ह जिल्ला प्रशासन कार्यालय मलंगवामा प्रमुख जिल्ल अधिकारी (सीडीओ) कोमलप्रसाद धमलाको अध्यक्षतामा बसेको उखु किसानहरुलाई अनुदान रकम भुक्तानि दिने समितिको बैठकले केही साताअघि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा प्राप्त रकम किसानको खातामा पठाउने निर्णय गरेको हो ।

गत वर्ष जिल्लाका ३ वटा चिनी मिलमा उखु बेचेका १७ हजार ३० जना किसानलाई प्रति क्विन्टल ७० रुपैयाँको दरले वितरण गर्न २९ करोड २५ लाख ५२ हजार ७४९ रुपैयाँ ३० पैसा आउनुपर्ने हो । तर, कोलेनिकामा ९ करोड ११ लाख २६ हजार ६३८ रुपैयाँ मात्रै आएको छ ।

तत्काल बाँकी रकम आउने छाँट नदेखिएपछि आज बैठक राखेर आएको जति रकम प्रत्येक किसानलाई ३० प्रतिसतको हिसाबले वितरण गर्न पुग्ने र सोहीअनुसार अघि बढ्ने निर्णय गरिएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) का प्रमुख निर्मल न्यौपानेले अब आज, भोली र पर्सी तीन दिन रातदिन नभनी काम गरेर प्रत्येक किसानको खातामा ३० प्रतिसतको हिसाबले पैसा पठाइने जानकारी दिए । उनले चेकबाट हुने भुक्तानि प्रणालीमा कुनै खराबी सिर्जना नभए शुक्रबार दिउँसोसम्म किसानको खातामा उनीहरुले पाउनुपर्ने अनुदान रकममध्ये ३० प्रतिसत पैसा पठाइने बताए ।

चाडपर्वमा समेत किसानले अनुदान रकम नपाएको गुनासो व्यापक भएपछि स्थानीय प्रशासन र अन्य सरोकारवाला निकायले ३० प्रतिसत रकम भएपनि तत्काल किसानको खातामा हालिदिने निर्णय गरेका हुन् ।

बैठकले उखु कृषकलाई वितरण गर्न नपुग हुने रकम यथाशीघ्र निकासा गरिदिन सम्वन्धित निकायलाई आ–आफ्नो तर्फबाट सबै पक्षले अनुरोध गर्ने निर्णय गरेको छ ।