बागमती नगरपालिकाको कार्यालय । (फाइल तस्बीर)
बागमती – लोपउन्मुख बोटे समुदायका विद्यार्थीको पहिलो राष्ट्रिय सम्मेलन सर्लाहीको बागमतीमा सम्पन्न भएको छ ।
नेपाल बोटे समाज विद्यार्थी सङ्गठनको पहिलो राष्ट्रिय सम्मेलन हिजो (शनिबार) बागमतीमा गरिएको हो । बागमती नगरपालिकाको सभा हलमा आयोजित सम्मेलनमा बोटे समुदायको बसोवास हुने विभिन्न जिल्लाबाट ती समुदायका विद्यार्थी सहभागी भएका छन् । सम्मेलनबाट विशाल कुमार बोटे अध्यक्ष रहने गरी नौ सदस्यीय नेपाल बोटे समाज विद्यार्थी सङ्गठनको केन्द्रिय समिति चयन गरिएको छ ।
समितिमा इन्दिरा बोटे उपाध्यक्ष, सविना बोटे सचिव, सुजन बोटे कोषाध्यक्षसहित अन्य सदस्य रहेका छन् । नेपाल बोटे समाजका केन्द्रिय अध्यक्ष राजकुमार बोटेको अध्यक्षतामा सम्पन्न सम्मेलनले बोटे जातिको भाषा, सँस्कृति र पहिचानको संरक्षण गर्दैै अघि बढ्नुपर्नेमा जोड दिएको छ ।
विशेष गरी चितवन र तनहुँ जिल्लामा बोटे समुदायको बसोवास पाइन्छ । सर्लाहीमा पनि उत्तर–पश्चिम भेगको बागमती नगरपालिकामा पनि केही घरधुरी बोटे समुदायको बसोवास छ । माछा मार्ने तथा डुङ्गा चलाउने उनीहरुको पुख्र्यौली पेशा हो ।