logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिपुरमा बालिका सम्मेलन, बाल विवाह रोक्न प्रतिवद्ध छौ : वडाध्यक्ष


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकाभित्रका वडाध्यक्षले बाल विवाह रोक्नका लागि आफूहरु प्रतिवद्ध रहेको बताएका छन् ।

साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल) को सहयोगमा मुसहर महिला सशक्तिकरण सन्जाल हरिपुरले शनिबार नेपाल रेडक्रस सोसाइटी हरिपुरको सभा हलमा राखेको नगरस्तरीय बालिका सम्मेलन कार्यक्रममा सरिक भएका सबै वडाध्यक्षले बालविवाह हुन नदिन आफ्नोतर्फबाट पूर्णरुपमा लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि हरिपुर नगरपालिका २ का वडाध्यक्ष निलबिक्रम थापाले बालविवाहमुक्त वडा बनाउने अभियानमा अघि बढेको बताए ।

हरिपुर ६ का वडाध्यक्ष प्रेमहरि श्रेष्ठले आफूहरुले यहाँ रोक्ने बालविवाह भारतमा गएर समेत गर्ने गरेको पाइएको सुनाए । उनले आफ्नो वडाभित्र कोही अभिभावकले छोराछोरीको २० वर्ष उमेर नपुगी विवाह गरेको पाए कानूनी दाउरामा ल्याउने चेतावनी दिने गरेको उल्लेख गरे ।

हरिपुर १ का वडाध्यक्ष नानिबाबु थापा, ३ का वडाध्यक्ष लाल मोहम्मद सेष, ५ का वडाध्यक्ष सुरेन्द्र चौधरी, ७ का वडाध्यक्ष मनोजकुमार चौधरी र ८ का वडाध्यक्ष हरिबहादुर थापाले आ–आफ्नो वडाभित्र बालविवाह हुन नदिन जिम्मेवार भएर लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी सहायक निरीक्षक (असई) देवराम यादवले २० वर्ष उमेर नपुगी कसैले विवाह गरे वा गराएकोबारे प्रहरीमा सूचना प्राप्त भए, तत्कालै गएर त्यसप्रकारको विवाह रोक्ने बताए । विवाहको सबै तयारी पूरा भइसकेको अवस्थामा अन्तिममा मात्रै सूचना आउँदा प्रहरीलाई समेत सामाजिक हिसाबमा त्यस विवाह रोक्न गाह्रो परिरहेको असई यादवको भनाई छ ।

नगरस्तरीय बाल क्लब हरिपुरकी अध्यक्ष रिंकी दासले कतिपय अवस्थामा पढ्ने तथा आफ्नै खुट्टामा उभिएपछि मात्रै विवाह गर्ने छोरीको सोचमा अभिभावकले असहयोग गर्ने गरेको गुनासो गरिन् । ओरेक नेपालकी जिल्ला संयोजक देवकुमारी महराले पछिल्लो समय कलिलै उमेरमा हुने भागी विवाह बालविवाह नियन्त्रणको प्रमुख चूनौति रहेको बताईन् ।

मुसहर महिला सशक्तिकरण सन्जाल हरिपुरकी अध्यक्ष पल्टनियाँदेवी माझीको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, मुसहर महिला र बालबालिका समेत सहभागी भएका साप–नेपालका मनोजकुमार पासवानले जानकारी दिए ।