मलंगवा – अनुचित लेनदेन (मिटरब्याज) का सम्वन्धमा जिल्ला प्रशासन कार्यालयमा भएको सहमती कार्यान्वयन गर्न अस्वीकार गर्ने पीडक र पीडित दुवैविरुद्ध कारवाही चलाइने निर्णय भएको छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालय मलंगवामा बसेको अनुचित लेनदेन (मिटरब्याज) समन्वय बैठकले कार्यालयमा आएर सहमती गरेपश्चात पछि गएर सहमती नै स्वीकार नगर्ने जो कोहीविरुद्ध कारवाहीका लागि सहमती दिने निर्णय गरेको हो ।
कार्यालयमा सहमती भएपछि पीडकले सहमती भएको रकम लिन अस्वीकार गरे उविरुद्ध मुद्दा दायर गर्न पाइने छ । त्यस्तै, पीडितले पनि निर्धारित अवधिभित्रै सहमती भएको रकम नदिए वा दिन आलटाल गरे पीडक सम्वन्धित निकायमा जान सक्ने भनी निर्णय भएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।
कार्यालयमा यसअघि पीडक र पीडितबीच छलफल गराएर भएको सहमती कार्यान्वयन नभएको गुनासो आएपछि जिल्ला प्रशासनले बिहीबार सबै सरोकारवालालाई बोलाएर छलफल गरी यस्तो निर्णय गराएको हो ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला स्तरीय मिटरब्याज पीडित समन्वय÷सहजीकरण समितिका संयोजक कोमलप्रसाद धमलाको अध्यक्षतामा अन्य सरोरकारवाला समेतको उपस्थितिमा बैठक सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।