मलंगवा – मधेश प्रदेशका अन्य जिल्लाहरुमा झैँ सर्लाहीमा पनि आज (बिहीबार) बाट नेपाल–भारत सीमा स्तम्भको मर्मत कार्य सुरु गरिएको छ ।
सन् २०१४ पछि निर्माण भएका सीमा स्तम्भ नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त रुपमा मर्मत गर्ने निर्णय भएअनुसार यहाँ पनि सीमा स्तम्भ मर्मतको काम सुरु गरिएको हो । जोर नम्बरको सीमा स्तम्भ भारतीय सीमा सुरक्षा बल (एसएसबी) र बिजोर नम्वरको सीमा स्तम्भ सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले मर्मत गर्ने सहमती भएको छ ।
सोही अनुसार सर्लाही जिल्ला अन्तर्गतमा पर्ने १३७ वटा बिजोर नम्वरका सीमा स्तम्भ आफूहरुले मर्मत गर्ने सशस्त्र प्रहरी बल नेपाल नम्वर १० गण हेडक्वार्टर कविलासीका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलासहित अन्य सुरक्षा अधिकारी, जनप्रतिनिधि र भारतीय सीमा सुरक्षा बलका प्रतिनिधिको समेत उपस्थितिमा आज विष्णु गाउँपालिका वडा नं. १ स्थित ३३३/११ नम्वरको सीमा स्तम्भ मर्मत गरी सो कार्यको शुभारम्भ गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी बर्दिवास, महोत्तरीबाट आठवटै जिल्लामा भएको निर्देशन अनुसार सर्लाहीमा पनि सीमा स्तम्भ मर्मत गर्न सुरु गरिएको सशस्त्र प्रहरीका एसपी भण्डारीले उज्यालो अभियानसँग बताए । भारतीय सुरक्षाकर्मीको भागमा परेको सीमा स्तम्भ नेपालतर्फको सशस्त्र प्रहरी बल नेपाल र नेपाली सुरक्षाकर्मीको भागमा परेको सीमा स्तम्भ भारतीय सीमा सुरक्षा बलको उपस्थितिमा मर्मत गरिने छ ।
प्रमुख जिल्ला अधिकारी धमलाले सन् २०१४ पछि निर्माण भएका र कुनै विवाद नरहेका सीमा स्तम्भ मात्रै मर्मत गरिने प्रष्ट पारेका छन् । उनले सीमा स्तम्भमा रङ्रोगन गर्ने, नम्बर लेख्ने तथा अन्य मर्मतको काम हुने बताए ।

नेपाल–भारत सीमा क्षेत्र दशगजामा ठूला (जङ्गे) मम्झौला र साना गरी तीन प्रकारका सीमा स्तम्भ हुन्छन् । तीमध्ये २०१४ पछि निर्माण भएकाबाहेक अन्य सीमा स्तम्भ मर्मत सम्भारको अधिकार नरहेको र अन्य सीमा स्तम्भलाई केही नगरिने प्रमुख जिल्ला अधिकारी धमलाले बताए ।