logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा दशैँभर ५१२ सवारीमाथि ट्राफिक कारवाही


  • उज्यालो अभियान

सर्लाही प्रहरीले २ दिनअघि गरेको पत्रकार सम्मेलनमा बोल्दै एसपी प्रवीण धिताल । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीमा दशैँको अवधिभर पाँच सय बढी सवारी कारवाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दशैँको घटनास्थपानादेखि कात्तिक १० गतेसम्म ट्राफिक नियम उल्लङ्घन गरी चलाइएका ५१२ सवारी कारवाहीमा परेका हुन् । ती सवारीलाई कारवाही गरी पाँच लाख १६ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ । कारवाहीमा पर्ने सवारीमा अधिकांश मोटरसाइकल रहेका छन् ।

सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले ट्राफिक प्रहरीसँग समन्वय गरी ट्राफिक नियम विपरीत चलाइएका सवारीलाई कारवाहीको दायरामा ल्याइरहेको जानकारी दिए । एसपी धितालले जिल्लामा अत्यधिक मात्रामा बिना हेल्मेट मोटरसाइकल चलाउने समस्या देखिएको बताए ।

तथ्याङ्क हेर्दा जिल्लामा बिना हेल्मेट चलाइएको मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते हुने तथा मृत्यु समेत भएको घटना अत्यधिक रहेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक धितालले हेल्मेट नलगाइ चलाइने मोटरसाइकल चालकलाई पहिलो पटक सम्झाउन र पुन ः त्यस प्रकारको ट्राफिक नियमको उल्लङ्घन गरेको पाइए कारवाही गर्न निर्देशन दिएको बताए ।

जिल्लामा पूर्व–पश्चिम राजमार्गमा ट्राफिक नियमको पालना हुने गरेपनि भित्री सडकमा ट्राफिक प्रहरी नरहने भएकाले अधिकांशले ट्राफिक नियमको उल्लङ्घन गर्ने गरेको पाइएको छ । ट्राफिक नियमको अत्यधिक उल्लङ्घन हुने भित्री सडकमै गम्भिर किसिमका मोटरसाइकल दुर्घटना ज्यादा हुँदा जनधनको धेरै क्षति हुने गरेको प्रहरीले जनाएको छ ।