लालबन्दी – सर्लाहीको लालबन्दीबाट प्रशारण भइरहेको सामुदायिक रेडियो एकता ९२.४ मेगाहर्ज आज (आइतबार) बाट १४ औँ वर्षमा प्रवेश गरेको छ ।
रेडियोले २०६७ साल कात्तिक १२ गते लालबन्दी नगरपालिका–९, बस्तीपुरबाट प्रशारण आरम्भ गरेको थियो । हाल लालबन्दी नगरपालिका–५, मेजरगन्जमा आफ्नै भवनबाट रेडियो नियमित प्रशारणमा रहेको छ । दैनिक १९ घण्टा प्रशारणमा रहेको रेडियोले बिहान ५, ८ र ११ बजे, दिउँसो २ र ४ बजे तथा बेलुका ६ः३० बजे स्थानीय समाचार प्रशारण गर्दै आइरहेको छ । बिहान ८ बजे र बेलुका ६ः३० बजेको समाचार बरहथवा, गोडैता र मलंगवामा रहेका अन्य चार रेडियोबाट समेत एकैसाथ प्रशारण हुने गरेका छन् ।
रेडियोले ६ वटा स्थानीय समाचारको अतिरिक्त राष्ट्रिय समाचार समेत गरी प्रत्येक घण्टा समाचार, विभिन्न चेतनामूलक र मनोरजनात्मक कार्यक्रम प्रशारण गरिरहेको रेडियोका व्यवस्थापक प्रकाश मैनालीले बताए । प्रत्येक वर्ष स्थापना दिवसमा सामाजिक काम गर्दै आइरहेको रेडियोले यो वर्ष आज पनि केही सामाजिक काम गर्ने तयारी गरेको उनले बताए ।
यस रेडियोले केही महिनाभित्रै टेलिभिजन समेत संचालन गर्ने तयारी गरेको छ ।
रेडियोका अध्यक्ष गोविन्द बहादुर महतले टेलिभिजन संचालन गर्ने गरी यसअघि नै भवन तयार गरिएको र अन्य आवश्यक प्राविधिक तयारीमा जुटिरहेको बताए ।