मलंगवा – सदरमुकाम मलंगवामा दुर्गा पूजाको मूर्ति विर्सजनका क्रममा असहज अवस्था सिर्जना भएपछि थप प्रहरी परिचालन गरिएको छ ।
अन्य स्थानको मूर्ति यसअघि सहमती भएकै रुट हुँदै लगेर विर्सजन गरिएपनि जिविस चोकको मूर्ति भने सेलाउन लैजाँदै गर्दा अघिल्ला वर्षहरुमा प्रयोग गरेको रुट हुँदै लान पाउनुपर्ने भनी विवाद भई प्रहरीसँग केहीबेर झडप नै भएको हो । प्रहरीले अश्रुग्याँस प्रहार गरी स्थिति नियन्त्रणमा लिएको छ । झडपमा केही प्रहरी घाइते भएका छन् ।
स्थिति सामान्य राखीराख्न अहिले मातहतका विभिन्न प्रहरी युनिटबाट थप मद्धतमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा ६५ बढी स्थानमा दुर्गा पूजा गरिएको छ । अन्य ठाउँमा शान्तपूर्वक रुपमा मूर्ति विर्सजन भएपनि सदरमुकाम मलंगवामा भने समस्या उत्पन्न भएको हो । त्यहाँ पनि अहिले भने प्रहरीले थप सुरक्षा दिएपछि मूर्ति विर्सजनको काम चलिरहेको सर्लाही प्रहरीका सूूचना अधिकारी (डीएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहितको सुरक्षा अधिकारी परिचालित भई सतर्कतापूर्वक नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेका छन् । केही समयदेखि बारम्बार तनाव भइरहेको मलंगवामा दुर्गा पूजाको मूर्ति सेलाउन लैजाने क्रममा कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालित भइरहेका छन् ।