logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नयाँरोडमा शंकास्पद अवस्थामा भेटिएको बोराभित्र लागूऔषध फेला


  • उज्यालो अभियान

हरिवन – पूर्व पश्चिम राजमार्गस्थित सर्लाहीको हरिवन नगरपालिका–१०, नयाँरोडमा आज (शनिबार) दिउँसो शंकास्पद अवस्थामा फेला परेको बोराभित्र लागूऔषध रहेको पाइएको छ ।

नयाँरोडस्थित पश्चिम बसपार्कको बस्ने बेन्चमाथि मुख बाँधिएको अवस्थामा सिमेन्टको बोरा फेला परेको थियो । शंकास्पद अवस्थामा फेला परेको उक्त वस्तु जोखिमयुक्त हुनसक्ने आशंकामा प्रहरीले घटनास्थल सुरक्षित गरी थप अनुसन्धानका लागि नेपाली सेना बोलायो ।

भैरवीदल गण पाँचकुमारी ब्यारेकबाट सेनाको टोली पुगेर हेर्दा उक्त बोराभित्र चामल रहेको र चामलभित्र लागूऔषध कोरेक्स लुकाएको फेला परेको हो । चामलभित्र लुकाएको अवस्थामा एक सय एमएलको ११४ बोतल वीन सिरेक्स कफ सिरफ बरामद भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले उज्यालो अभियानलाई जानकारी दिए ।

ब्यस्त चोकमा बेवारिसे अवस्थामा शंकास्पद झोला फेला परेपछि त्यसभित्र रहको बस्तु पत्ता लगाउन सेना नै बोलाएर चेकजाँच तथा अनुसन्धान गर्दा सुरक्षाकर्मी करिव ३ घण्टा हैरान भए । सो बोरा फेला परेपछि प्रहरीले पूर्व–पश्चिम राजमार्गमा मानिस तथा सवारीको आवतजावत रोकेर भित्री सडकतर्फ ‘डाइभर्ट’ गरायो ।

प्रहरी निरीक्षक गिरीले बेवारिसे तथा शंकास्पद अवस्थामा फेला परेको सो बोरा आफूखुसी चलाउँदा जोखिम हुने ठानेर नेपाली सेनालाई बोलाएर निष्क्रिय पार्ने प्रयास गरिएको बताए । उनले सो बोरा बसपार्कमा ल्याएर बेवारिसे अवस्थामा छाडी त्रास सिर्जना गर्ने व्यक्तिमाथि अनुसन्धान हुने बताएका छन् ।

सो बोराभित्रको लागूऔषध कुनै लागूऔषध ओसारपसार गर्ने व्यक्तिले त्यहाँ छाडेर फरार भएको हुनसक्ने आशंका गरिएको छ ।