लालबन्दी – सर्लाहीको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा आज बिहानैबाट खसिबोका किनबेच गर्नेको भीड लागेको छ ।
दशैँअघि अब यहाँ नवमीको दिन मात्रै बजार लाग्छ । अन्तिमतिरको बजार भएकाले आज बिहानैबाट खसीबोका बेच्ने किसान अनि खरिद गर्ने सर्वसाधारण र व्यापारीको भीड लागेको हो ।
किसानले गाउँ–गाउँबाट खसीबोका बिक्रीका लागि बजार ल्याइरहेका छन् । तर, यो वर्ष खसीबोकाको भाउ नै नरहेको गुनासो किसानले गरिरहेका छन् । अघिल्ला बजारहरुमा बिक्रीका लागि ल्याउँदा सस्तो मूल्य भएकाले धेरै किसानले खसीबोका बिक्री नगरी फर्काएका थिए ।
अधिकांशले अष्टमी, नवमीको दिनमै बली चढाउने भएकाले आजकै बजारमा खसीबोका अत्यधिक किनबेच हुने अनुमान छ । न्यून आयस्तर भएका परिवार र अधिकांश किसानले खसीबोका बिक्री गरेरै दशैँको खर्च टार्ने गरेका छन् ।
आज हाटबजार लग्ने दिन भएकाले लालबन्दी बजारमा कपडा, मरमसला, फलफूल, खाद्यान्नसहित दशैँमा प्रयोग हुने सरसामग्रीको पनि धेरै व्यापार हुने अनुमान गरिएको छ ।