जियाजोर – दशैँ भित्रिएसँगै सर्लाहीका स्थानीय वासिन्दा घर लिपपोतदेखि सरसफाईको काममा ब्यस्त हुन थालेका छन् ।
अधिकांशले फूलपातीअघि नै घर, आँगन चिटिक्क पार्ने गरेका छन् । शहरी भेगदेखि ग्रामीण बस्तीसम्मै प्रमुख चाड दशैँको चहलपहल बढ्न थालेको हो ।
ग्रामीण भेगमा कमेरो तथा रातो माटो लगाएर कच्ची घर लिपपोत गर्ने, घर छेउछाउका झाडी बुट्यान फाँड्ने अनि कपडा, मरमसलालगायत दशैँमा प्रयोग हुने सरसामग्री जुटाउने काममा सबैको ब्यस्तता बढेको छ । दशैँ सुरु भएसँगै वैदेशिक रोजगारीमा गएका र अध्ययनको सिलसिलामा काठमाडौंलगायत देशका प्रमुख सहरमा बस्नेहरु धमाधम गाउँ फर्किन थालेका छन् ।
गाउँका अधिकांश युवा व्यवहार धान्न भनी वैदेशिक रोजगारीमा गएकाले दशैँ, तीहारमा पहिले जस्तो चहलपहल र रमाइलो भने कम हुँदै गएको स्थानीय बताउँछन् । दशैँको मुख्य दिन नजिकिँदै गर्दा सङ्घीय राजधानीसहित देशका प्रमुख सहरबाट घर फर्किनेको बस बिसौनी तथा चोकमा चलपहल बढ्न थालेको देखिन्छ ।
यही दशैँकै बेला कतिपयलाई भने पाकेको धान भित्र्याउने चटारो छ । यहाँको लालबन्दी, हरिवनलगायतका मुख्य बजारमा कपडा, मरमसला, खाद्यान्न, खसीबोका किन्नेको भीडभाड बढ्दो छ । जिल्लाका व्यापारीले भने चहलपहल बढेपनि अघिल्ला वर्षहरुमा झैँ उल्लेख्य व्यापार नरहेको गुनासो गरिरहेका छन् ।
फूलपातीदेखि मात्रै सरकारी कार्यालय बिदा हुने भएकाले फूलपाती, अष्टमी र नवमीमा मानिसको अझ बढी चहलपहलसँगै व्यापार बढ्ने अपेक्षा व्यापारीले गरेका छन् ।