मलंगवा – सर्लाहीमा सोमबार साँझ हाजिर भएका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जिल्लास्थित कार्यालयका प्रमुखहरुलाई सेवा भावमा समर्पित भई छिटोछरितो सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
जिल्लामा हाजिर भएपछि मंगलबार पहिलो पटक कार्यालय प्रमुखको बैठक राखेर सीडीओ धमलाले सेवाग्राहीलाई सरल, सहज र छिटोछरितो किसिमले सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् । आफ्नो जिम्मेवारीलाई काम भनी नसोची सेवा हो भन्ने सोच्न र काम गर्दा जहिल्य पनि सेवाभावमा समर्पित हुन भनेका छन्
सोही बैठकको अवसर पारेर कर्मचारी मिलन केन्द्र सर्लाहीले प्रजिअ धमलालाई स्वागत गरेको छ । त्यस्तै, भर्खरै सरुवा भई आएका जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) प्रवीण धिताल र बागमती सिँचाई आयोजना कर्मैयाका सीडीई अनुभव चौधरीलाई पनि कर्मचारी मिलन केन्द्रका संयोजक सन्जय मानन्धरलगायत भएर फूल, माला, खादा र अविरले स्वागत गरेका छन् ।
सोही कार्यक्रममा भेटेरिनरी अस्पताल (साबिक पशु विकास कार्यालय) मलंगवाबाट सप्तरी सरुवा भएका वरिष्ठ पशु विकास अधिकृत शंकर साहलाई बिदाई गरिएको छ ।