logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

घटस्थापनाको अवसरमा सर्लाहीका ६५ स्थानमा कलशयात्रा, सुरक्षा पहरा दिँदै प्रहरी


  • उज्यालो अभियान

मलंगवा – घटस्थापनाको अवसरमा सर्लाही जिल्लाभर आज भव्य कलश यात्रा निकालिएको छ ।

जिल्ला प्रहरी कार्यालय मलङ्गवाले उपलब्ध गराएको सूचना अनुसार जिल्लाभर ६५ भन्दा बढी स्थानमा कलश यात्रा निकालिएको छ । यहाँका दुर्गा मन्दिरमा गणेश स्थापनासहित स्थानीय वासिन्दा, व्यवसायीलगायत मिलेर टोल, बजारमा भव्य कलशयात्रा निकालेका हुन् ।

सदरमुकाम मलङ्गवासहित लालबन्दी, हरिवन, बरहथवा, बयलवासलगायत प्रमुख बजार र ग्रामीण भेगमा समेत घटस्थापनाको अवसर पारेर कलश यात्रा निकालिएको स्थानीयले बताएका छन् । कलशयात्रामा जिल्लाका सांसद, पालिका प्रमुख, अन्य जनप्रतिनिधि, अगुवासहित स्थानीय वासिन्दाको भव्य उपस्थिति देखिएको छ ।

जिल्लाभरका दुर्गा मन्दिरमा नवरात्रभर भजनकिर्तनसहित विशेष पूजाअर्चना र मेला आयोजना गर्ने गरिन्छ । अष्टमीदेखि दशमीसम्म खसी, बोकाको बली चढाउने प्रचलन रहेको छ । अन्तिमदिन मेला विर्सजन तथा दहन कार्यक्रम गर्ने गरिन्छ । घटनास्थापनाको अवसरमा जिल्लाभर निकालिएको कलशयात्रामा प्रहरीले सुरक्षा पहरा दिएको छ ।

कलशयात्रामा मानिसको ठूलो भीड उपस्थित हुने भएकाले आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको सर्लाहीका निमित्त प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । उनका अनुसार सदरमुकाम मलङ्गवामा मात्रै एक हजार ७०० भन्दा बढी मानिस उपस्थित भएर दुर्गा पूजाको कलशयात्रा निकालिएको छ ।

मलङ्गवामा बारम्बार तनाव उत्पन्न भइरहेकाले त्यहाँ ठूलो मास उपस्थित भएर निकालिएको कलशयात्रामा प्रहरीले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको छ । मलङ्गवामा मात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिव दुई सय बढी सुरक्षाकर्मी परिचालन गरी कलशयात्रा निकालिएको एक सुरक्षा अधिकारीले उज्यालो अभियानसँग बताए ।

नवरात्रभर दुर्गा पूजा हुने स्थलमा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।