लालबन्दी – लालबन्दीमा आज (बुधबार) बाट नगर स्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिता–२०८० सुरु भएको छ ।
प्रतियोगितामा आयोजक वडा नं. ८ भने पहिलो खेलमै पराजित भई प्रतियोगिताबाट बाहिरिनु परेको छ । वडा नं. १३ सँगको उद्घाटन खेलमा ३–१ गोलले पराजित हुँदै वडा नं. ८ स्तब्ध बनेको हो ।
खेलअघि प्रतियोगिताको वडा नं. ८ स्थित फुटबल चौरमा लालबन्दीका मेयर बासुदेव अधिकारीले उद्घाटन गरे । उनले नगरको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित फुटबल प्रतियोगिताले स्थानीय स्तरमा फुटबल खेल र खेलाडीको विकासका लागि टेवा पुग्ने विश्वास व्यक्त गरे ।
वडाध्यक्ष शुक्र बहादुर पाख्रिनको अध्यक्षतामा आयोजित फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा छिमेकी नगरपालिका, ईश्वरपुरका मेयर मनोजकुमार आचार्य, लालबन्दीकै उपमेयर कल्पनामाया पाख्रिनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् । ‘एट स्टार’ यूवा क्लब लालबन्दी ८ सह–आयोजक रहेको यस प्रतियोगितामा लालबन्दी नगरको १७ वटै वडाले सहभागिता जनाउँदै छन् ।
कात्तिक ३ गतेसम्म चल्ने प्रतियोगितामा पहिलो हुने वडालाई १ लाख र दोस्रो हुने वडालाई ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
दशैँ, तीहार, छठ र नेपाल सम्वतको शुभकामनासहित आयोजित प्रतियोगितालाई सफल पार्न वडाभित्रका सबै खेलप्रेमी सक्रिय भई लागिपरिरहेको प्रचारप्रसार समितिका संयोजक संजिवकुमार श्रेष्ठले बताए ।