प्रतिकात्मक तस्बिर ।
बरहथवा – वन्यजन्तुबाट तरकारी जोगाउन थापिएको विद्युतीय करेन्टमा परी एक जनाको मृत्यु भएको छ ।
काउली खेतीमा निलगाईलगायत अन्य जीवजन्तु प्रवेश गर्न नदिन बिजुलीको नाङ्गो तारमा प्रवाह गरिएको करेन्ट लागेर बरहथवा नगरपालिका–१४, बिन्माटोलका ४५ वर्षीय शिवजी साहको मृत्यु भएको हो । साह मंगलबार राति शौच गर्न गएका बेला छिमेकी नरेश साहको खेतमा नाङ्गो तार छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । क
बरहथवाका डीएसपी लीलाराज लामिछानेका अनुसार घर छेउमा भर्खरै रोपिएको काउलीमा जोखिमपूर्ण ढङ्गले चारैतिर बिजुलीको नाङ्गो तार लगाएर करेन्ट प्रवाह गरिएको थियो । हुकिङ लगाएर बारी घेरिएको नाङ्गो तार प्रहरीले बरामद गरेको छ ।
गैर–कानुनी रुपमा तरकारी बालीमा नाङ्गो तार टाँगेर करेन्ट प्रवाह गर्ने नरेश साह घटनापश्चात फरार रहेका छन् । नरेशका छोरा रामकेवललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डीएसपी लामिछानेले उज्यालो अभियानसँग बताए ।