सागरनाथ – १४ महिनादेखि तलब नपाएका सागरनाथ वन विकास परियोजनाका कर्मचारीले सोमबारबाट पुनः कार्यालयमा तालाबन्दी गरेर कामकाज ठप्प पारेका छन् ।
सर्लाही, रौतहट र महोत्तरी गरी तीन जिल्लामा वन क्षेत्र पर्ने यस परियोजनाका कर्मचारीले सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथस्थित मुख्य कार्यालयमा तालाबन्दी गरेर तलब माग गरेका हुन् । परियोजनाको अस्थायी कर्मचारी सङ्घका अध्यक्ष सन्तोष साहको नेतृत्वमा सम्पूर्ण स्थायी र दैनिक ज्यालादारी कर्मचारी भएर कार्यालयमा तालाबन्दी गरी धर्ना सुरु गरेका छन् ।
परियोजनाका कर्मचारी केही महिनाअघि काठमाडौँस्थित माइतीघरसम्म पुगेर धर्नामा बसेपछि वन मन्त्रालयका सचिव लगायतले तत्काल तलब निकासका लागि पहल गर्ने आश्वासन दिइ जिल्ला फर्काएका थिए । सो आश्वासन अनुसार दशैँको मुखमा आइपुग्दा समेत तलब नपाएपछि कर्मचारीले पुनः यहाँ आन्दोलन सुरु गरेका हुन् ।
आन्दोलित कर्मचारीले विगत १४ महिनादेखिको तलब भक्ताको व्यवस्थासहित परियोजना प्रमुखको नियुक्ति गर्नुपर्ने, श्रम ऐन कार्यान्वयन हुनुपर्नेलगायतको माग राखेका छन् । रातदिन नभनी निरन्तर परियोजनाको वन जोगाउन लागि परिरहे पनि सरकारले १४ महिनासम्म तलब नदिएर आफूहरुमाथि ठूलो अन्याय गरेको परियोजनाको अस्थायी कर्मचारी सङ्घका अध्यक्ष सन्तोष साहले उज्यालो अभियानसँग गुनासो गरे ।
वर्षदिनको चाड दशैँमा धरी तलब नपाउने छाँट देखिएपछि बाध्य भई आन्दोलनमा होमिनु परेको साहले बताए । यसअघि वन रक्षकसहित सबै कर्मचारी आन्दोलन गर्न काठमाडौँ जाँदा यहाँ परियोजना अन्तर्गतका वन क्षेत्रमा अत्यधिक मात्रामा काठ तस्करी भएको थियो ।
अझैसम्म पनि तलब नपाएर कर्मचारीले फेरि आन्दोलन सुरु गरेपछि परियोजनाको वन क्षेत्रमा पुनः काठ तस्करी र अतिक्रमण बढ्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।