logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवाको कर्फ्यू पूर्णरुपमा हट्यो, गृहमन्त्रीको आतिथ्यतामा सद्भाव र्‍याली निकालिने


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यू पूर्णरुपमा हटेको छ।

दुई समुदायबीचको दूरी घटाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठको अगुवाईमा मलंगवामा सद्भाव र्‍याली समेत निकालिने भएको छ । सदरमुकाम मलंगवामा दुइ समुदायबीचको तनावको स्थिति सहज बनेको भन्दै जिल्ला सुरक्षा समितिले पूर्ण रुपमा कर्फ्यू खुला गर्ने निर्णय गरेको हो ।

असोज–४ गते गणेशको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप भएपछि कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले मलंगवामा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको थियो । स्थिति केही सामान्य बनेपछि गत बिहिबार बिहानदेखि बेलुकासम्म कर्फ्यू खुला गरिएपनि राती कर्फ्यूले निरन्तरता पाएकोमा आइतबारबाट पूर्णरुपमा खुला गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।

यस्तै मलंगवामा एक आपसमा सहयोग गरी बस्दै आएका दुई समुदायबीच उत्पन्न विवाद मत्थर पार्नका लागि उपप्रधान तथा गृहमन्त्री नरायणकाजी श्रेष्ठको अगुवाईमा आउँदो बिहिबार सद्भाव र्‍याली समेत निकालिने सर्वपक्षीय निर्णय भएको प्रजिअ यादवले बताए । सर्वपक्षीय निर्णयमा सद्भाव भड्काउने र ढुंगामुढा गरी क्षति पुर्‍याउनेको पहिचान गरी कानूनी दायरामा समेत ल्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गत भदौ २२ गते पनि कृष्ण जन्माष्टमीको मूर्ती सेलाउने क्रममा दुई समुदायबीच विवाद हुँदा कर्फ्यू लगाउनु परेको थियो । तर पछिल्लो समय मलंगवाको अवस्था भने सामान्य बनेको छ ।