logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

घारिबथानमा पहिलो पटक डिप बोरिङबाट पानी आयो, स्थानीय हर्षित


  • उज्यालो अभियान

घारिबथान – सर्लाहीको उत्तरी चुरेभेगस्थित ईश्वरपुर नगरपालिका–१२, घारिबथान दोङखोरियामा पहिलो पटक डिप बोरिङबाट पानी आएपछि स्थानीय खुसी भएका छन् ।

जलस्रोत तथा सिँचाई विभाग अन्तर्गतको समृद्ध तराई–मधेश सिँचाई विशेष कार्यक्रम अन्तर्गत १७८ मिटरको डिप बोरिङ गाडेर डेढ इन्चको पाइपमा पानी निकालिएको हो । घारिबथानमा यसअघि पटक–पटक डिप बोरिङ गाडेर भूमिगत पानी निकाल्ने प्रयास गरेपनि सफल हुन सकेको थिएन ।

ईश्वरपुर १२ का वडाध्यक्ष देविबहादुर खत्रीले डिप बोरिङबाट पानी आएपछि सारा गाउँले खुसी भएका जानकारी दिए । “यो भन्दा पहिले यस वडाका विभिन्न स्थानमा डिप बोरिङ धसाएर पानी निकाल्ने प्रयास गरियो तर सफल हुन सकेन, यो पटक भने सफलतापूर्वक पानी निस्किएको छ,” वडाध्यक्ष खत्रीले भने, “खानेपानीको सँधै अभाव हुने यहाँका वासिन्दा डिप बोरिङबाट पानी आउँदा खुसीले दंग परेका छन् ।”

वडाध्यक्ष खत्रीले स्थानीयसँग सरसल्लाह गरी यो पानीलाई अब घरघरमै लैजाने प्रयास गरिने बताए । सुक्खा क्षेत्रमा पर्ने घारिबथानमा वर्षौदेखि खानेपानीको दुःख छ । दोङखोरियामा सुरुमा सिँचाईका लागि भनि डिप बोरिङ गाडिएको थियो ।

शुक्रबार बिहान डिप बोरिङबाट पानी आएपछि खुसी भएका स्थानीयको हेर्नका लागि भीड नै लागेको स्थानीय युवा दिलिपकुमार बुढाथोकीले बताए । उनका अनुसार शुक्रबार नै ६ घण्टा भन्दा बढी लगातार मोटर चलाएर पानीको परीक्षण समेत गरिएको छ ।

खन्दै जाँदा सिँचाईका लागि आवश्यक पर्ने पर्याप्त पानी नरहेको भन्दै बीचमै डिप बोरिङ खन्ने काम रोक्न थालिएको थियो । डिप बोरिङ खन्ने ठेक्का पाएको रेश्मा डिप बोरिङ ट्यूबेल उद्योग विराटनगरका प्रतिनिधि सुनिल कार्कीले स्थानीयले जत्रै पानी आएपनि बोरिङ खनिदिन आग्रह गरेपछि तत्कालका लागि डेढ इन्चको पाइपमा पानी निकालिएको जानकारी दिए ।

“स्थानीयको आग्रह अनुसार हामीले पानी निकालिदिएका छौँ, कुन प्रयोजनमा प्रयोग गर्ने भन्ने गाउँलेको जिम्मा हो,” कार्कीले भने ।

समृद्ध तराई–मधेश सिँचाई विशेष कार्यक्रम जावलाखेल, ललितपुरका हाइड्रोजियोलोजिष्ट अर्पण पराजुलीले पानी निकाल्ने काम सफल भएको र अब कार्यालयको तर्फबाट पप्प, प्यानलबोर्डलगायत राख्ने घर निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरिने बताए । “हामीले सिँचाईको क्षेत्रमा काम गर्ने हो, यहाँ सिँचाईकै लागि भनेर बोरिङ गाड्दा पर्याप्त पानी भेटिएन,” पराजुलीले भने, “गाउँलेले अहिले निस्किएको पानी खानेपानीका लागि प्रयोग गर्छौँ भन्नुभएको छ, व्यावहारिक हिसाबले पनि पहिलो प्राथमिकता खानेपानीले नै पाउँछ ।”

पराजुलीले अहिले निस्किएको पानी सिँचाईका लागि पर्याप्त नहुने भएकाले पिउने पानीकै लागि उपयुक्त हुने बताए । उनका अनुसार जिल्लाको ईश्वरपुर, लालबन्दी, हरिवन र बलरा नगरपालिकामा ३ करोड बजेटबाट १६ वटा डिप बोरिङ गाडिँदै छ ।