मलंगवा – अनुचित लेनदेन (मिटरब्याज) समन्वय÷सहजीकरण समिति सर्लाहीले ५ लाख भन्दा कम कारोवारका मिटरब्याजीविरुद्धको निवेदन फछ्यौटका लागि इलाका प्रशासन तथा इलाका प्रहरी कार्यालयमा पठाउने निर्णय गरेको छ ।
शुक्रबार सदरमुकाम मलंगवामा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको सो समितिको बैठकले निवेदकले सुरुमा लिएको ५ लाख वा सोभन्दा कम रहेका निवेदन छलफल गरी फछ्र्यौट गराउन इलाकाहरुमा पठाउने निर्णय गरेको हो । बरहथवा, केशरगन्ज, गडहीया, हरिपुर र लालबन्दीमा त्यस प्रकारका ३०/३० वटा निवेदनको फाइल पठाइएको छ ।
चक्रघट्टाको इलाका प्रहरी कार्यालयमा १५ वटा र इलाका प्रहरी कार्यालय हरिवनमा १२ वटा निवेदन पठाइएको छ । इलाका प्रशासन कार्यालय बरहथवामा समेत २७ वटा निवेदन पठाइएको छ । जम्मा २०४ वटा निवेदन इलाकाहरुमा पठाइएको छ । यि विषयमा छलफल गराइ निवेदन फछ्र्यौट गराउन सबै कार्यालयमा फोकल पर्सन समेत तोकिएको छ । ५ लाख भन्दा माथिको कारोवार भएका निवेदनको छलफल र फछ्यौट भने जिल्ला प्रशासन कार्यालय मलंगवाबाटै हुने छ ।
शुक्रकारको बैठकले गाउँघरमै भरभलादमी, जनप्रतिनिधिहरुको रोहबरमा पहिला नै सहमती भई सहमती कार्यान्वयन समेत भइसकेको वा लेनदेन कारोवारको निरन्तरता नरहेको निवेदनहरुलाई अनुचित लेनदेन (मिटरब्याज) कारोवार अन्तर्गत नहेर्ने निर्णय गरेको छ ।