शंकरपुर – सर्लाहीको बागमती नगरपालिकाले आज (शुक्रबार) स्थानीय बिदा दिएको छ ।
नगरपालिकाको वडा नं. ८ र १० को सीमास्थित शङ्करपुर सोल्टी बजारमा आयोजित ५० औँ इन्द्रजात्रा मेला महोत्सवको अवसरमा आज शुक्रबार स्थानीय बिदा दिइएको नगरपालिकाले सूचना जारी गरेर जानकारी दिएको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलद्वारा हस्ताक्षर गरी हिजो नै जारी गरिएको सूचनामा मेलाको अवसरमा शुक्रबार नगरपालिका अन्तर्गतका कार्यालय, सङ्घसंस्था तथा शैक्षिक संस्थाहरुमा एक दिन स्थानीय बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।
सोल्टी बजारमा लाग्ने यो मेला ऐतिहाँसिक रहेको स्थानीयले बताएका छन् । असोज १० गतेदेखि सुरु भएको मेला १३ गते भोलीसम्म सञ्चालन हुने छ । मेलाको अवसरमा आयोजकले प्रदेशस्तरीय नृत्य प्रतियोगितासहित अन्य कार्यक्रम आयोजना गरेको छ ।
बागमती नगरपालिकाले यसअघि देखि नै विभिन्न समुदायले मनाउने पर्व, फुटबल प्रतियोगितालगायतको अवसरमा स्थानीय बिदा दिँदै आएको छ ।