सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
मलंगवा – ईस्लाम धर्मावलम्बीको धर्मगुरु पैगम्बर मोहम्मदको जन्मदिन आज (बिहीबार) सर्लाहीसहित देशभर मनाइँदै छ ।
सर्लाहीमा जिल्ला सदरमुकाम मलंगवासहित जिल्लाभरकै मुस्लिम समुदायले आज यो पर्व मनाउँदै छन् । यस पर्वलाई लक्षित गर्दै सर्लाही प्रहरीले सुरक्षा व्यवस्था चुस्त पारेको छ । विशेष गरी सदरमुकाम मलंगवामा सुरक्षा व्यवस्था कडा पारिएको हो । चाडपर्वको समयमा बारम्बार झडप हुन थालेपछि मलंगवामा उच्च सुरक्षा सावधानी अपनाउन थालिएको छ ।
सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले जिल्लाभर कहिँकतै झडप तथा अन्य अप्रिय घटना हुन नदिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । विशेष गरी मुस्लिम बस्तीहरुमा प्रहरीको निगरानी रहने डीएसपी थारुले बताए ।
जिल्लाको २० वटै पालिकामा मुस्लिम समुदायको बसोवास छ । मोहम्मद डेलाई सौहार्दपूर्ण ढंगले मनाउन आब्हान गर्दै आज हरिवन नगरपालिका ११ स्थित हरिवन बजारमा सद्भाव र्याली निकाल्न लागिएको वडाध्यक्ष शेष मेहबुब रेजाले जानकारी दिए ।
पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आज (बिहीबार) प्रदेश सरकारले मधेश प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आज यहाँका सम्पूर्ण सरकारी कार्यालय, विद्यालय, बैंक तथा वित्तीय संस्था बन्द रहने छन् ।