logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीमा विद्यार्थीको सद्भाव र्याली


  • उज्यालो अभियान

लालबन्दी – पूर्व पश्चिम राजमार्गस्थित लालबन्दी बजारमा बुधबार बिहान सद्भाव र्याली निकालिएको छ ।

संयुक्त विद्यार्थी संगठन जनज्योति बहुमुखी क्याम्पस लालबन्दीको आयोजनामा ‘धार्मिक, साम्प्रदायिक तथा सामुदायिक सद्भाव कायम राखौँ’ भन्ने मूल नारासहित क्याम्पसदेखि लालबन्दी बजारसम्म सद्भाव र्याली निकालिएको हो । सदरमुकाम मलंगवामा केही दिनअघि भएको अशान्ति र फरक समुदायबीचको विवादलाई लिएर अहिले जिल्लाका विभिन्न स्थानमा सद्भाव र्याली निकाल्नेक्रम जारी छ । सोहीक्रममा विद्यार्थीले बिहान लालबन्दीको पूर्व–पश्चिम राजमार्गमा सद्भाव र्याली निकालेका हुन् ।

कार्यक्रममा विद्यार्थीहरु राष्ट्रिय झण्डासहित सहभागी भएका थिए । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) क्याम्पस इकाई समितिका उपसभापति विकास थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दीपक अधिकारी, कांग्रेस क्षेत्र नं. १ (ख) का सभापति सीताराम दाहाल, निर्वतमान नगर सभापति प्रशान्त आचार्य, नेता कुवेर आचार्य, तरुल दलका केन्द्रिय सदस्य विभुसिंह थापा, नेविसंघका केन्द्रिय सदस्य मनोज बख्रेल, नेविसंघका जिल्ला सभापति धिरज यादव, विद्यार्थी नेता लवहरि ढुंगेल, प्रवेश न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

यस्तै किसिमको सद्भाव र्याली बुधबार नै बरहथवा नगरपालिकाको आयोजनामा बरहथवा बजारमा पनि निकालिँदै छ । लालबन्दीमै मंगलबार मात्रै नेकपा एमालेले सद्भाव र्याली र दीप प्रज्वलन गरेको थियो ।