मलंगवा – सर्लाही सदरमुकाम मलंगवा शान्त बन्दै गइरहेको छ ।
आजबाट मलंगवामा गाडी चल्न थालेका छन् । बजारका पसल, व्यवसाय हिजैदेखि खुल्न थालेको छ । गएको बिहीबार रातिदेखि लगाइएको कफ्र्यु हिजो देखि दिउँसोका लागि हटाइएको छ ।
राति ८ बजेदेखि बिहान ४ बजेसम्म भने कफ्र्यु कायमै रहेको छ । सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले आजबाट मलंगवा शान्त रहेको र चहलपहल पनि बाक्लिएको बताए ।
सरकारी कार्यालयका सेवा सूचारु भएपछि सेवाग्राही बढेका छन् । अवस्था सामान्य बन्दै गएपनि मलंगवामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ भइरहेकै छन् ।
सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले दिउँसोको कफ्र्यु हटेपनि कुनै प्रकारको भेला, जुलुस र प्रर्दशन गर्न तथा पर्चा, पोष्टरजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको जानकारी दिए ।