प्रतिकात्मक तस्बिर ।
विष्णु – जिल्लाको विष्णु गाउँपालिकामा सोमबार भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
विष्णु गाउँपालिका–६ स्थित भित्री सडकमा बीआर ३० एडी ९८७२ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ३५ वर्षीया सुनिता देवीको मृत्यु भएको हो ।
पैदल हिँडिरहेकी सुनिता मोटरसाइकलको ठक्करबाट सिकिस्त घाइते भएकी थिइन् । घाइते सुनितालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा पुर्याएपछि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकलसहित चालक सोही ठाउँका १८ वर्षीय आकाश मण्डल प्रहरी नियन्त्रणमा रहेका छन् ।