logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कफ्र्यु उल्लंघन गर्ने पक्राउ पर्न थाले, अफवाह नफैलाउन आग्रह, जनजीवन कष्टकर


  • उज्यालो अभियान

मलंगवा, असोज ७ – सदरमुका मलंगवामा गत बिहीबार राति १० बजेदेखि जारी कफ्र्यु थप कडाईका साथ लागू भएको छ ।

कफ्र्यु उल्लंघन गरेर ढुंगामुढा र प्रर्दशन उत्रने व्यक्तिलाई पक्राउ गर्न सुरु गरिएको छ । कफ्र्यु पालना गराउन तथा आम नागरिकको सुरक्षामा तैनाथ सुरक्षाकर्मीले मलंगवाका ठाउँ–ठाउँबाट कफ्र्यु उल्लंघन गर्नेलाई पक्राउ गरिरहेका सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले बताए ।

प्रदर्शन नरोकिएको र शान्ति भंग हुनसक्ने भन्दै स्थानीय प्रशासनले कफ्र्यु आदेशलाई निरन्तरता दिएको छ । मलंगवामा जिल्लासहित मातहतका विभिन्न युनिट, प्रदेश तथा विभिन्न गणबाट समेत नेपाल प्रहरी र सशस्त्र दुवैको थप मद्धत टोली परिचालन गरिएको छ ।

आइतबार बिहानबाट नेपाली सेनाले समेत गस्ती थालेको छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) होमप्रसाद घिमिरेले सामाजिक सञ्जालमा आगजनी, तोडफोडजस्ता अफवाह फैलाइएकाले त्यसको पछि नलाग्न अनुरोध गरेका छन् ।

नागरिक समाज, सञ्चारकर्मी र अन्य अगुवा व्यक्तिले नै सामाजिक सञ्जालमा जथाभावी लेखिदिँदा बाहिर गलत हल्ला फैलिएको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले धार्मिक सद्भाव र शान्ति कायम गर्ने कार्यमा सकारात्मक सहयोग गरिदिन सबैसँग आग्रह गरे । उनले स्थिति नियन्त्रणमै रहेको र कफ्र्यु हटाएर जनजीवन सामान्य बनाउन जिल्ला समन्वय समितिका प्रमुख, नगरप्रमुख, वडाध्यक्षलगायत सरोकारवालासँग आइतबार छलफल गरिएको बताए ।

चार दिनदेखिको कफ्र्युका कारण मलङ्गवासीको दैनिक कष्टकर बनेको छ । अत्यावश्यक काम परेका स्थानीय घरबाहिर निस्कन पाएका छैनन् भने मलंगवामा काम परेर जानुपर्नेहरु पनि मारमा परेका छन् ।
हाटबजार ठप्प हुँदा दैनिक उपभोग्य सरसामग्री किन्न पाएका छैनन् । मलंगवाबाट छुट्ने तथा मलङ्गवा पुग्ने कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

शुक्रबारदेखि सदरमुकामका अधिकांश सरकारी तथा अन्य कार्यालय खुल्न सकेका छैनन् । मलंगवाकै घटनासँग जोडेर जिल्लाका अन्य प्रमुख व्यापारिक केन्द्र तथा गाउँघरमा समेत प्रदर्शन हुन थालेका छन् ।